कोरोना बीमाको रकम भुक्तानी गर्न बीमा कम्पनीहरु नै अनिच्छुक, उजुरी बोकेर सिईओ निर्वाचन आयोगमा

२ मंसिर २०७९, शुक्रबार १०:४९

काठमाडौं । सरकारले एक अर्ब रुपैयाँ कोरोना बीमा बापतको रकम भुक्तानी गर्न भन्दै निकासा गरेपछि बीमा कम्पनीहरुमा तनाव बढेको खुलेको छ । बीमा कम्पनीका सिईओहरु रकम भुक्तानी गर्न तयार भएपनि बीमा कम्पनीका सञ्चालक तथा अध्यक्षहरु कोरोना बीमा बापतको रकम बीमा कम्पनीको खाताबाट कुन आधारमा भुक्तानी गर्ने भन्दै प्रश्न उठाएका छन् ।

बीमा कम्पनीहरुको अध्यक्षहरुले बीमा कम्पनीका सिईओहरुलाई सञ्चालक समितिमा छलफल नै नगराई करोडौं रुपैयाँ भुक्तानी दिने सम्बन्धमा निर्णय गरेको भन्दै असन्तुष्ट बनेका हुन् । एक बीमा कम्पनीका अध्यक्षले बीमापोष्टसँग नाम उल्लेख नगर्ने शर्तमा भने, ‘बीमा कम्पनीहरुमा अर्बौ रुपैयाँ जनताको लगानी रहेको छ, जनताको लगानी भएको संगठित संस्थाको रकम जथाभावी भुक्तानी दिन मिल्दैन ।’ सरकारले दिएको एक अर्ब रकमलाई ५५ प्रतिशत मानेर बाँकी रहेको ४५ प्रतिशत मध्ये २५ प्रतिशत बीमा कम्पनीहरुलाई भुक्तानी गर्न बीमा समितिले निर्देशन दिइएको छ । कोरोना बीमा मापदण्ड २०७७ माथि सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन रहेकै अवस्थामा अहिले नै कम्पनीको पक्षमा २५ प्रतिशत भागबण्डा लगाउन नहुने बीमा कम्पनीका लगानीकर्ताहरुको भनाई छ ।

सरकारले सामाजिक सुरक्षा अन्तर्गत कोरोना बीमा गराएको बीमा कम्पनीका सञ्चालक तथा अध्यक्षहरुको भनाई छ । उनीहरुले बीमा प्राधिकरणले जथाभावी निर्णय गर्न थालेको भन्दै गम्भिर चिन्ता समेत व्यक्त गरेका छन् । केही दिनअघि बसेको बीमा कम्पनीका अध्यक्षहरुको बैठकमा सिईओहरुले बीमा कम्पनीका सञ्चालक समिति र अध्यक्षहरुलाई गुमराहमा राखेर करोडौं रुपैयाको भार थोपरेको आरोप लगाउन थालेका छन् । नेपाल बीमक संघले समेत गलत निर्णय गरेको भन्दै संघसँग पनि अध्यक्षहरु असन्तुष्ट बनेका छन् ।

यसैबीच, प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्व राम तिमिला कोरोना बीमाको रकम भुक्तानी गर्ने बीमा प्राधिकरणको निर्णय निर्वाचन आचार संहिता विपरित भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिन गएको खुलेको छ । प्रिमियर इन्स्योरेन्स सिईओ तिमिला गत कार्तिक २० गते निर्वाचन आयोगमा पुगेर उजुरी दर्ता गरेको जनाइएको छ । सो बुझ्न खोज्दा सिईओ तिमिला सम्पर्कमा आउन चाहेनन् । उनी अध्यक्ष सुरेशलाल श्रेष्ठको दवावपछि निर्वाचन आयोगमा पुगेको अनुमान गरिएको छ ।

अपडेटः २०७९ मंसिर २ गते, १७ः०३ बजे ।

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)द्धारा समाचारको खण्डन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आज प्रकाशित “कोरोना बीमाको रकम भुक्तानी गर्न कम्पनीहरु नै अनिच्छुक, उजुरी बोकेर सिइओ निर्वाचन आयोगमा” शिर्षकमा प्रकाशित समाचारको लिखित रुपमा खण्डन गरेको छ ।
सम्पादक ज्यू
बिषयः झुटो समाचार सम्प्रेसन बारे ।
उपरोक्त सम्बन्धमा त्यस अनलाईनमा मिति २०७९।०८।०२ मा प्रकाशित “कोरोना बीमाको रकम भुक्तानी गर्न कम्पनीहरु नै अनिच्छुक, उजुरी बोकेर सिइओ निर्वाचन आयोगमा” शिर्षकमा प्रकाशित खबरमा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृृत विश्व राम तिमिला तथा अध्यक्ष सुरेश लाल श्रेष्ठको समेत नाम उल्लेख गरी हुँदै नभएको झुट्टा तथा भ्रामक समाचार सम्प्रेषण गरेर कम्पनीको छबीमा आँच आउने कार्य प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारको खण्डण गर्नुहोला अन्यथा कानुन बमोजिम कार्य गर्न बाध्य हुने व्यहोरा जानकारी गराउदछौ ।
धन्यवाद,
भवदीय,
सहदेव तिवारी
नायब प्रमुख कार्यकारी अधिकृत
मितिः २०७९।०८।०२

संवाददाताको भनाई:
बीमापोष्टले निर्वाचन आयोगमा दर्ता भएको उजुरीको आधारमा समाचार लेखेको हो । झूठा समाचार प्रकाशन गरेको होइन । प्रकाशित समाचारप्रति बीमापोष्ट विश्वस्त छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*