रिलायन्स लाइफ आजबाट छैटौं वर्षमा प्रवेश, बीमाको पहुँच बढाउँदै अघि बढ्ने प्रतिबद्धता

१ मंसिर २०७९, बिहीबार ०८:२५

काठमाडौं । २०७४ मंसिर १ गतेबाट औपचारिक रुपमा जीवन बीमा सेवा शुभारम्भ गरेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट पाँच वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गर्दैछ । आज कम्पनीले बार्षिकोत्सव देशव्यापी रुपमा मनाउँदैछ । पाँचौं वर्ष पुरा गरी छैटौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीका देशैभरिका शाखा कार्यालय तथा क्षेत्रीय कार्यालयहरुमार्फत विविध कार्यक्रम गरी मनाउने जनाएको छ ।

स्थापनादेखि नै बीमा व्यवसायको दीगो विकासमा केन्द्रीत उक्त कम्पनीले बीमा सेवा प्रवाह गर्दै बहुआयामिक कोणबाट बीमितहरुको जोखिम रक्षावरण गर्दै अघि बढ्दै आइरहेको छ । बीमाको दीर्घकालिन विकास र स्थायी समृद्धिलाई पछ्याउँदै अघि बढेको कम्पनीले छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । बीमा भनेकै दीर्घकालिन व्यवसाय हो । तत्कालका लागि भन्दा पनि कैयौं वर्षपछिको भविष्यको रेखा कोरिने हुँदा रिलायन्स लाइफले रणनीतिक रुपमा दीर्घकालिन योजना र सोचका साथ बीमा व्यवसाय अघि बढाइरहेको छ ।

छैटौं वर्ष प्रवेशको अवसरमा अवसरमा कम्पनीका अध्यक्ष तारा चन्द केडियाले रिलायन्स लाइफ आगामी दिनमा सानिमा लाइफसँगको सहकार्यमा मर्जर भई नेपाली बीमा क्षेत्रमा नयाँ आयाम थप गर्दै बीमित, शेयरधनी र अभिकर्ता सबैलाई थप लाभ हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष केडियाले रिलायन्स लाइफको मूल मन्त्र नै खुलेर जिऔं भन्ने भएकोले निर्धक्क भएर बीमा गर्न आह्वान गरेका छन् । अध्यक्ष केडियाले जनतालार्ई झुक्याएर बीमा गर्ने आाफ्नो नीति नभएकोले सबैले बुझेर, जानेर, निर्धक्क भएर बीमा गर्न आह्वान गरेका छन् । रिलायन्स लाइफलाई विश्वास गर्ने बीमितहरुको पक्षमा रिलायन्स लाइफले सबैद काम गर्ने प्रतिबद्धता अध्यक्ष केडियाले व्यक्त गरेका छन् ।

त्यस्तै कम्पनीका सिईओ राकेश पोखरेलले मर्जरपछि बीमा क्षेत्रमा नयाँ प्रयोगसहित अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा परम्परागत बीमा व्यवसायबाट माथि उठेर तीव्र गतिको बृद्धि, बीमितलाई अधिकतम् लाभ हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । सिर्ईओ पोखरेलले बीमाको पहुँच बृद्धि, समान रुपमा ग्रामिण क्षेत्रका जनताको बीचमा बीमा पुग्न आजको आवश्यकता भएको बताउँदै त्यसको लागि काम गर्ने प्रतिबद्धता जनाए ।

 

स्थापनाको पाँच वर्षमा कम्पनीको जीवन बीमा कोषमा जीवन बीमा कोषमा झण्डै पाँच अर्ब संचिती गर्न सफल भएकोछ । त्यस्तै, महाविपत्ति कोष, जगेडा कोष सहित कम्पनीसँग कूल कोषको आकार चार अर्ब ३५ करोडभन्दा माथि छ । कुनै पनि जीवन बीमा कम्पनीको लागि जीवन बीमा कोष निकै नै महत्वपूर्ण हुन्छ । बीमितले पाउने लाभांश तथा कम्पनीको बलियोपना मापन गर्दा जीवन बीमा कोष नै हेर्ने गरिन्छ ।

स्थापनाको पाँच वर्षको अवधीमा रिलायन्स लाइफमा विश्वास गरेर आफ्नो जोखिम बीमा गराउने बीमितहरुको संख्या एक लाख ६२ हजार ३३४ रहेको छ । पछिल्लो वित्तीय अवस्थामा कम्पनी सबै सूचांकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको खर्च घटेको अवस्था र आम्दानी बढेको अवस्थाले पनि कम्पनी सुदृढ र सम्पन्न देखिन्छ ।

देशैभरिका शाखा सञ्जालमार्फत ग्रामिण तहसम्म बीमाको पहुँच पुर्याउन प्रतिबद्ध रहँदै अघि बढेको कम्पनी अबको केही समयपछि सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाँदैछ । एनआरएन ग्रुपहरुको लगानी रहेको सानिमा लाइफसँग केडिया अर्गनाइजेशनसँग आबद्ध व्यक्तिहरु, देशकै ठूलो रिलायन्स पेपर मिलका लगानीकर्ता, सिद्धार्थ ग्रुप, सिद्धार्थ बैंकलगायतको मुख्य लगानी रहेको रिलायन्स लाइफ मर्जरमा गएसँगै नेपाली बीमा जगतमा अर्को अध्याय थपिने छ । हाल दुुई अर्ब १० करोड चुक्ता पुँजि रहेको कम्पनीको मर्जर पछि चुक्ता पुँजि पाँच अर्ब नजिक पुग्नेछ ।

बार्षिकोत्सवकै अवसरमा कम्पनीका अध्यक्ष केडियाले नियामक निकाय, आम बीमित, सबै पेशागत बीमा अभिकर्ताहरु कर्मचारीहरु तथा सबै शुभचिन्तकमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरेकका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*