पहिलो त्रैमासमा यस्तो देखियो एनएलजी इन्स्योरेन्स, प्रतिशेयर आम्दानी १६ रुपैयाँ माथि अन्य सूचांक कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । प्रकाशित विवरण अनुसार कम्पनीको वित्तीय अवस्था औषत देखिएको छ । नेपाली अर्थतन्त्रमा आर्थिक संकटको असर, बैंकहरुबाट कर्जा प्रवाह रोकिने जस्ता कारणहरुबाट बीमा क्षेत्रमा चर्को असर परिरहेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा कोषको आकार ११.७१ प्रतिशतले बृद्धि भई एक अर्ब १७ करोड ६९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ति कोष, जगेडा कोष समेतमा कूल एक अर्ब ५६ करोड ६२ लाख ३८ हजार रुपैयाँ संचिती रहेको छ । कूल एक अर्ब ३२ अर्ब चुक्ता पुँजि भएको एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा पाँच करोड ४६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको मुनाफा सामान्य अंकले घटेको देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६.९२ रुपैयाँ रहेको छ । जुन अन्य बीमा कम्पनीहरुको तुलनामा निकै राम्रो हो ।
कम्पनीको कूल बीमा शुल्क आम्दानी ९.६० प्रतिशतले घटेको छ । अघिल्लो आवको तीन महिनामा ६७ करोड ५७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको तीन महिनामा ६१ करोड आठ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।
त्यस्तै, कर्जा लगानी, अन्य लगानीबाट प्राप्त कम्पनीको आम्दानी १५ करोड १७ लाख रुपैयाँ रहेको छ । गत आवमा यस्तो आम्दानी १५ करोड ८२ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद दावी भुक्तानी उच्च अंकले घटेको छ । गत वर्षको तीन महिनाको अवधीमा १७ करोड १९ लाख ५५ हजार रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तीन महिनामा नौ करोड ९७ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले जोखिमको उचित मूल्याङ्कन गरी पुनर्बीमा गराएकोले दावी भुक्तानी घटेको हो ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी १९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३३ करोड रुपैयाँ थियो । कूल बीमा शुल्कको जोखिम भएको बीमा शुल्कलाई पुनर्बीमा गरेर बाँकी रहेको बीमा शुल्क खुद बीमा शुल्क हो ।
कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या ४८ हजार ४१४ रहेको छ ।