पहिलो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष र मुनाफा दुवै बढ्यो
काठमाडौं । सन नेपाल लाइफले चालु आवको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, मुनाफा, खुद बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा प्रगति गरेको छ ।
सन नेपाल लाइफले आज प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष ४८.९७ प्रतिशतले बृद्धि भई तीन अर्ब ९६ करोड ४६ लाख एक हजार पुगेको छ । अघिल्लो वर्ष दुई अर्ब ६६ करोड १२ लाख ५५ हजार रुपैयाँ थियो । कम्पनीको जगेडा कोष ७० प्रतिशतले बृद्धि हुँदा महाविपत्ति कोष १८ प्रतिशलते बृद्धि भई समग्र कोषको आकार चार अर्ब ९३ करोड नाघेको छ ।
बीमाको दीगो विकास लक्ष्य पछ्याउँदै अघि बढेको सन नेपाल लाइफले तीन महिनाको अवधीमा ८२ करोड ४७ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ५७ करोड ४८ लाख मात्रै थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी ४३.४७ प्रतिशतले बृद्धि भएको छ । समग्र बीमा व्यवसायको घटिरहेको बेला सन नेपाल लाइफले पछ्याएको बीमाको दीगो व्यवसाय लक्ष्यका कारण व्यवसाय बृद्धि गर्न सफल भएको छ ।
कम्पनीको खुद दावी भुक्तानी बृद्धि भएको छ । नयाँ कम्पनी भएकोले सुरुमा दावी भुक्तानी लगभग शून्य हुने र व्यवसाय बृद्धि हुँदा जाँदा दावी भुक्तानी ह्वात्तै बढेको देखिने गर्दछ । गत आवमा सात करोड रुपैयाँ दावी भुक्तानी गरेकोमा चालु आवको तीन महिनामा २४ करोड ३० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
कम्पनीको लगानी, कर्जा, बीमालेख धितोमा कर्जाबाट प्राप्त आम्दानी २७.२६ प्रतिशतले बृद्धि भएको छ । गत आवको तीन महिने अवधीमा आठ करोड ११ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको बैंकले चालु आवको तीन महिने अवधीमा १० करोड ३३ लाख १३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च ३०.२३ प्रतिशतले घटेको छ । गत आवमा ११ करोड ९९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु त्रैमासिक समीक्षामा आठ करोड ३६ लाख ६१ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । कम्पनीको आम्दानी उच्च अंकले बृद्धि हुने तथा खर्च उच्च अंकले घट्नुले कुशल व्यवस्थापन झल्किएको छ ।
कम्पनीले अभिकर्तालाई दिने कमिशन रकम ५.६७ प्रतिशतले घटेको छ । गत आवमा नौ करोड रुपैयाँ कमिशन वितरण गरेको कम्पनीले चालु आवको तीन महिनामा आठ करोड ८३ लाख ५३ हजार रुपैयाँ कमिशन वितरण गरेको छ ।
कम्पनीको खुद नाफा ३२.०८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा पाँच करोड २० लाख रुपैयाँ कमाएकोमा चालु आवको तीन महिनामा छ करोड ८६ लाख ८१ हजार रुपयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या उल्लेख्य रुपमा बृद्धि भई सात लाख ७९ हजार १७१ वटा पुगेको छ ।