जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्क वापत उठाए साढे २८ अर्ब, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नवीकरण शुल्क आर्जन गर्न सफल भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरुले साढे २८ अर्बभन्दा बढी नवीकरण बीमा शुल्क आर्जन गरेका हुन् ।
सो मध्य सबैभन्दा बढी नवीकरण बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा कुल ८ अर्ब ६९ करोड ६ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, आफ्नो जीवन बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पनि सो अवधिसम्म ३ अर्ब ९९ करोड रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपाललाई पच्छ्याउँदै नेशनल लाइफले पनि सो अवधिसम्म ३ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ नवीकरणमार्फत बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, युनियन लाइफले १ अर्ब ५९ करोड र एशियन लाइफले १ अर्ब ३८ करोड रुपैयाँ नवीकरणमार्फत बीमाशुल्क आर्जन गरेको छ । असोज मसान्तसम्ममा युनियन लाइफ र एशियन लाइफले नवीकरण शुल्क आर्जनमा उल्लेख्य प्रगति गरेको देखिएको छ । बीमा प्राधिकरणको रिर्पोटअनुसार पहिलो त्रैमासम्ममा पाँच जीवन बीमा कम्पनीले मात्रै अर्बभन्दा बढी नवीकरण शुल्क आर्जन गर्न सफल भएका छन् ।
साथै मेट लाइफले पनि सो अवधिसम्म ९९ करोड ३५ लाख, राष्ट्रिय बीमा संस्थानले ९८ करोड ६९ लाख, सिटिजन लाइफले ९७ करोड ८८ लाख, प्राइम लाइफले ९४ करोड १५ लाख, सूर्या लाइफले ९१ करोड ८२ लाख, गुराँस लाइफले ६९ करोड ३५ लाख, आइएमई लाइफले ६४ करोड ८८ लाख, ज्योति लाइफले ६१ करोड २३ लाख, रिलायन्स लाइफले ६१ करोड १३ लाख, सन नेपाल लाइफले ४८ करोड ७५ लाख, प्रभु लाइफले ४१ करोड ७० लाख, सानिमा लाइफले ३८ करोड ७९ लाख र महालक्ष्मी लाइफले २७ करोड ६२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् ।