नेपाल पुनर्बीमा कम्पनीलाई आगामी दिनमा अवसर र चुनौतीको सामाना गनुपर्ने सुझाव
काठमाडौं । नयाँ प्रडक्ट बनाउने काममा कम्पनीले जोड दिनुपर्छ
राजुरमण पौडेल
कार्यकारी निर्देशक, बीमा समिति
नेपाल पुनर्बीमा कम्पनीले अहिलेसम्म गरेको व्यवसायीक गतिविधी राम्रो छ । तर, कम्पनीले गर्न बाँकी काम भने अझै पनि छ । विशेषगरि कम्पनीले दक्ष म्यानपवार पुर्ति गर्नुपर्ने बिषयमा बढी जोड दिनुपर्ने देखिन्छ । साथै, कम्पनीको काम कारवाहीलाई अटोमेशन गर्ने, प्रविधिको प्रयोग गर्नेमा पनि ध्यान दिनुपर्ने छ । यसका अलावा नयाँ नयाँ प्रडक्ट बनाउने, बीमा कम्पनीहरुलाई नियमित तालिम दिने, विदेशी बजारमा व्यवसाय विस्तार गर्ने काम नेपाल रिले गर्नुपर्छ । त्यसो गर्न सकेमा कम्पनीको भविष्य अझ राम्रो हुनेछ । व्यवसायीक काम गर्ने बेलामा कम्पनीलाई कुनै बाधा परेमा बीमा समिति सहयोग गर्न तयार पनि छ । साथै, सुशासन भन्दा बाहिर गएर काम गरेमा बीमा समिति कारवाही गर्न पनि पछि हट्ने छैन ।
नेपाल रि को सेवा सुविधा अन्तरराष्ट्रिय स्तरको हुनुपर्छ
पोषकराज पौडेल
उपाध्यक्ष, नेपाल जीवन बीमक संघ
बास्तवमा नेपाल पुनर्बीमा कम्पनीसँग बीमा क्षेत्रको धेरै अपेक्षा छ । नेपाल पुनर्बीमा कम्पनी स्थापना हुनुभन्दा पहिला पनि यहाँका बीमा कम्पनीहरुले विदेशी रि इस्योरेन्सबाट राम्रो सेवा सुविधा पाइरहेका थिए । त्यो अवस्थामा हामीले नेपाल रिबाट पनि सोहीअनुसार सेवा सुविधा चाहान्छौं । त्यसमा पहिलाको भन्दा धेरै सुधार आएपनि अझै ग्याप देखिन्छ । तसर्थ, नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेवालाई अन्तरराष्ट्रिय स्तरको बनाउनुपर्छ जस्तो लाग्छ । त्यस भित्र पनि नयाँ नयाँ प्रक्डटको विकास गर्ने, कम्पनीको क्षमता विकास गर्ने, जोखिम एसेसमेन्ट गर्ने, अन्डरराइटीङ र दावी बिभागका कर्मचारीको क्षमता विकास गर्ने काम पनि कम्पनीले गर्नुपर्ने देखिन्छ । यसका अलावा बीमा कम्पनीहरुलाई बीमा क्षेत्रको नयाँ नयाँ आयमहरुबारे तालिम दिने काम पनि पुनर्बीमा कम्पनीले गर्नुपर्छ । साथै, व्यवस्थापन र सञ्चालनको पाटोबाट पनि कम्पनीले बीमा कम्पनीहरुलाई तालिम दिनुुपर्छ ।
श्रीलंकाको मोडेलमा आकस्मीक बीमा कोष स्थापना
रमेशराज भट्टराई
पुर्व कार्यकारी निर्देशक, बीमा समिति
प्रथम प्रवन्धक (आकस्मीक बीमा कोष)
अमेरिकामा टुइन टावर आक्रमण भएपछि विश्वभर पुनर्बीमा कम्पनीहरुले आतंकवाद बीमामा व्याकअप दिन छोडे । त्यसबेला नेपालमा पनि माओवादी जनयुद्ध कायम थियो । यहाँ पनि आतंकवाद सम्बन्धी घटना भइरहेको थियो, त्यसकारण विदेशी रि इस्योरेन्स कम्पनीहरुले नेपालको आतंकवाद सम्बन्धी पुनर्बीमा गर्न चाहेनन् । पछि भने ४० प्रतिशतसम्म बीमाशुल्क बढाएर पुनर्बीमा गर्ने प्रस्ताव ल्याए । तर, त्यसरी प्रिमियम तिर्न सक्ने अवस्थामा हामी थिएनौ । त्यसपछि हामीले के गर्ने कसो गर्ने भनेर सोचिरहेका थियौ । त्यसबेला श्रीलंकामा पनि तामिलहरुको आतंक भइरहेको थियो । तर, त्यहाँ बीमामा कुनै समस्या थिएन । श्रीलंकामा अध्ययन गर्दा त्यहाँका बीमा कम्पनीहरुले पुल बनाएर आतंकवाद बीमाको पुनर्बीमा गरिरहेका रहेछन् । त्यसपछि हामीले पनि सोही मोडेलमा आकस्मीक बीमा कोष स्थापना गर्ने अवधारण अघि सारेका हौं । श्रीलंकामा भने निजी बीमा कम्पनीहरु मात्रै मिलेर त्यस्तो पुल बनाएका रहेछन्, सोही कारण पछि त्यो बन्द पनि हुन गएछ । तर, हामीले भने सरकारलाई समेत आवद्ध गराएर पुनर्बीमा कम्पनीमै रुपान्तरण गर्ने उद्देश्य सहित आकस्मीक बीमा कोष स्थापना गरेका हौं । त्यसपछि सोही मार्फत नै आतंकबाद बीमाको पुनर्बीमा गर्न शुरु गरेका हौं । त्यसपछि भने भारतबाट पुनर्बीमा तथा ब्रोकर कम्पनी आएर पुरानै मूल्यमा नेपालको आतंकवाद बीमाको पुनर्बीमा गर्ने इच्छा पनि देखाए । त्यसपछि उनीहरुले पनि सोही कोष मार्फत नै आतंकवादको पुनर्बीमा गरेका हुन् । कोषले ४० प्रतिशतसम्मको दायित्व आफुले राखेर बाँकी उनीहरुलाई दिने गरेको थियो ।
त्यो कोषमा मैले बीमा समितिबाट काजमा गएर पहिलो प्रवन्धक भएर पनि काम गरेको हो । त्यसरी स्थापना भएको कोष अहिले नेपाल पुनर्बीमा कम्पनीको रुपमा परिचित भएको देख्दा खुसी लागेको छ ।
अर्थतन्त्रमा समेत कोषको ठुलो योगदान पुगेको थियो
जन्मजय रेग्मी,
पुर्व अध्यक्ष, आकस्मकि बीमा कोष
म प्रारम्भिक चरणमै आकस्मीक बीमा कोषमा अध्यक्ष भएको हुँ । त्यसबेला कोष त्यति विस्तार भएको थिएन । अहिले त उक्त कोष नेपाल पुनर्बीमा कम्पनीकै रुपमा स्थापित भएको छ, यो एकदमै राम्रो उपलब्धी हो ।
बास्तवमा तत्कालिन समयमा नेपालको बीमा क्षेत्रमा मात्र नभएर समग्र अर्थतन्त्रमै कोषको छुट्टै महत्व र योगदान थियो । किनकी, त्यो कोषले पुनर्बीमा मार्फत बाहिरीने रकम कम गरेको थियो । साथै, अहिले पुनर्बीमा कम्पनीले पनि त्यसरी बाहिरीने रकम कम गर्न सहयोग गरेको छ । यो आफैमा राम्रो पक्ष हो ।
अबका दिनमा पनि कम्पनीले धेरै राम्रो गर्न सक्छ । त्यसको लागि कम्पनीले आफ्नो संरचनामा केही परिवर्तन ल्याउनुपर्छ । साथै, दक्ष तथा प्राविधिक म्यानपावर राखेर काम गर्नुपर्छ । यसका अलावा व्यवसाय छनोट प्रणालीमा सुधार गर्ने, प्रतिस्पर्धाको क्षमता बढाउने, बजारको खोजी गर्ने, बजार विस्तार गर्ने काम कम्पनीले गर्नुपर्छ ।
नेपाल रिको तत्काल रेटीङ गर्ने प्रक्रिया अघि बढाउनुपर्छ
चन्द्रसिंह साउद
पुर्व सञ्चालक समिति सदस्य
नेपाल पुनर्बीमा कम्पनी
आकस्मीक बीमा कोष
नेपालमा माओवादी द्धन्द्ध चलेको बेलामा विदेशी पुनर्बीमा कम्पनीहरुले आतंकवाद बीमाको व्याकअप दिन नमानेपछि आकस्मकी बीमा कोष स्थापना गरिएको हो । साथै, पुनर्बीमा मार्फत बाहिरने पैसा नेपालमै रोक्ने र त्यो पैसा नेपालमै परिचालन गर्ने उद्देश्यका साथ पनि कोष स्थापना गरिएको थियो । अहिले उक्त कोष नेपाल पुनर्बीमा कम्पनीमै रुपान्तरण भएको छ, यो एउटा महत्वपूर्ण उपलब्धी हो ।
कोष स्थापना भएदेखि नै पुनर्बीमा मार्फत बाहिरीने रकम केही मात्रामा भएपनि रोकिएको थियो । साथै, पुनर्बीमा कम्पनी स्थापना भएपछि पुनर्बीमा मार्फत विदेशी मुद्रा पनि भित्रिएको छ, यो एउटा राम्रो पक्ष हो । यद्यपि, कम्पनीले अझै धेरै काम गर्न सक्छ । र, त्यसको लागि कम्पनीले गर्नुपर्ने काम पनि थुप्रै रहेको छ । बिशेषगरि कम्पनीले अन्तरराष्ट्रिय क्रेडिट रेटीङको काम तत्काल टुंग्याउनुपर्छ । साथै विदेशी बजारबाट जोखिम बिश्लेषण गरेर व्यवसाय ल्याउने, डेटा विश्लेषण गर्ने, कम्पनीको क्षमता बढाउने काम कम्पनीले गर्नुपर्छ । साथै, अन्डरराइटीङ र दावीको पाटोमा कम्पनी बढी चनाखो हुनुपर्छ । यसका अलावा नेपाली बजारमा अर्काे पुनर्बीमा कम्पनी पनि स्थापना भइसकेको छ । साथै, विदेशी बजारमा पनि थुप्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरुसँग प्रतिस्पर्धा गर्ने क्षमता कम्पनीले विकास गर्नुपर्छ ।
कोषको आम्दानी र पुँजी बढाउने काम गरे
शालिग्राम पराजुली
पुर्व प्रबन्धक, आकस्मीक बीमा कोष
सम्भवत कोषमा म नै पहिलो पुर्णकालिन प्रवन्धक हुँ । म कोषमा प्रवेश गर्दा धेरै कुरा अस्तव्यस्त थिए । कोषको वित्तिय विवरणनै पराम्परागत रुपमा बनाइएको थियो । त्यसमा एक साइडमा आम्दानी र अर्काे साइडमा खर्च विरण मात्रै हुन्थ्यो । अन्य सुचकहरु थिएनन् । म गएलगत्तै विशेषज्ञ तथा एकाउन्टेन्ट नै हायर गरेर प्रचलित लेखा मानअनुसार कोषको वित्तिय विवरण बनाएको हुँ ।
यस्तै, कोषको रकम बैंकहरुको कल डिपोटीजमा राखिएको थियो, त्यसबापत २ प्रतिशतसम्म मात्रै व्याज आउथ्यो । म गएपछि त्यसलाई बैंकको मुद्दती निक्षेपमा राख्ने काम गरे, त्यसबापत कोषलाई बार्षिक ६ देखि ८ प्रतिशतसम्म व्याज आउँथ्यो । कोषसँग पैसा कम थियो, त्यसैले बैंकले पनि व्याज धेरै दिन मानि रहेका थिएन् । तत्कालिन समयमा म राष्ट्रिय बीमा संस्थानबाट काजमा गएको थिए, बीमा संस्थानको पैसामा बैंकहरुले जति व्याज दिन्थ्यो, त्यति व्याजमा कोषको पैसा राख्ने व्यवस्था गरेको हुँ । समग्रमा मेरो कार्यकालमा कोषको कुनै पनि लगानी नराम्रो भएन, मैले गरेका सबै लगानीले राम्रो प्रतिफल दिएका थिए ।
यसरी व्याजआम्दानी बढाएर कोषको आम्दानी तथा नाफा बढाउने काम पनि भयो । साथै, पुँजी बढाउने काममा पनि सहयोग पुग्यो । यस्तै, कोषमा अधिकांश बीमा कम्पनीबाट बीमाशुल्क असुल हुन बाँकी थियो । म गएलगत्तै शतप्रतिशत बक्यौता उठाउन सफल भए । समग्रमा मैले आकस्मीक बीमा कोषमा रहेर सक्ने जति काम गरे जस्तो लाग्छ ।
कम्पनीले टेक्नीकल क्षमता बढाउनुपर्छ
धनिराम शर्मा
पूर्व सञ्चालक समिति सदस्य, नेपाल पुनर्बीमा कम्पनी
मैले नेपाल पुनर्बीमा कम्पनीमा दुई पटक सञ्चालक सदस्य भएर काम गरे । त्यसबेला अर्थ मन्त्रालयमा लविङ गरेर स्वदेशी बीमा कम्पनीले अनिवार्य रुपमा २० प्रतिशतको अनुपातमा नेपाल रिमा पुनर्बीमा गर्नुपर्ने व्यवस्था पनि गरिएको हो । साथै, पुँजी बृद्धि गर्ने काम पनि त्यसबेलानै गरेको हो ।
यद्यपि, नेपाल रिले गर्नुपर्ने काम धेरै नै छ । अबका दिनमा कम्पनीले बिशेषगरि आफ्नो टेक्नीकल क्षमता बढाउन आवश्यक छ । कस्तो पुनर्बीमा गर्ने, कस्तो पुनर्बीमा नगर्ने भनेर विश्लेषण गर्ने जनशक्ति कम्पनीमा हुनुपर्छ । साथै, कम्पनीले आफ्नो व्यवसायीक दायरा अझै बढाएर लैजानुपर्छ ।
साथै, व्यवसायको लागि नयाँ बजार खोज्ने, व्यवसाय बढाउने, क्षमता बढाउने, दावी भुक्तानीलाई राम्रो बनाउने कामलाई कम्पनीले निरन्तर रुपमा अघि बढाउनुपर्छ । पुँजीको आधारमा कम्पनीको व्यवसाय अझै पनि थोरै नै छ जस्तो लाग्छ । तसर्थ, कम्पनीले व्यवसाय बढाउने मामलामा पनि उत्तिकै जोड दिनुपर्छ ।
विदेशी व्यवसाय ल्याउनमा जोड दिनुपर्छ
श्रीमान कार्की
पुर्व कार्यकारी निर्देशक , बीमा समिति
पूर्व प्रवन्धक, आकस्मीक बीमा कोष
समग्रमा नेपाल पुनर्बीमा कम्पनीको हालसम्मको व्यवसाय राम्रो छ । तर, विदेशबाट जति व्यवसाय ल्याउनुपर्ने हो, त्योअनुसार विदेशबाट व्यवसाय आएन की जस्तो लाग्छ । सायद, कम्पनीको अन्तरराष्ट्रिय क्रेडिट रेटीङ नभएर पनि होला । तसर्थ, तत्काल कम्पनीको अन्तरराष्ट्रिय क्रेडिट रेटीङ गर्न सबै ले जोड दिनुपर्छ । पुनर्बीमा कम्पनीलाई विदेशमा व्यवसाय गर्न अन्तरराष्ट्रिय क्रेडिट रेटीङ अनिवार्य हुन्छ, किनकी विदेशी कम्पनीहरुले अन्तरराष्ट्रिय क्रेडिट रेटीङको आधारमै व्यवसाय दिने हो । तर, नेपाल रिको अन्तरराष्ट्रिय क्रेडिट रेटीङ भएको छैन । हालसम्म सरकारी कम्पनी भएको नाताले यस कम्पनीले विदेशबाट व्यवसाय ल्याएको हो । अन्तरराष्ट्रिय क्रेडिट रेटीङ गर्न सकेको अवस्थामा अझ धेरै व्यवसाय ल्याउन सकिन्छ । तसर्थ, यसमा बिलम्ब गर्न हुदैन । साथै,
नेपाल रिले आफैले रेट्रोसेसन गरेर पठाउको व्यवसाय घुम्दै घुम्दै पुनः आफ्नै कम्पनीमा आउने समस्या पनि थिए, त्यस्ता प्राविधिक समस्या समाधान गर्न पनि कम्पनी अग्रसर हुनुपर्छ ।