नयाँ बीमा ऐन स्वागत गर्न तयार हुनुस्, नियमावली बनाउन सहयोग गर्नुस्ः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रका सबै सरोकारवाला निकायहरुलाई यही कार्तिक २२ गतेदेखि लागू हुने नयाँ बीमा ऐन कार्यान्वयन गर्न तयार रहन निर्देशन दिएका छन् ।
आज राजाधानी काठमाडौंमा नयाँ बीमा ऐन कार्यान्वयनको सन्दर्भमा आयोजित बृहद छलफल कार्यक्रममा अध्यक्ष सिलवालले सबै बीमक कम्पनी, सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघलाई यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष सिलवलालले पुरानो ऐनको तुलनामा नयाँ ऐन धेरै हिसाबले बलियो भएको बताउँदै अक्षरस पालना गर्नुपर्ने बताए ।
सबै बीमा कम्पनीका अध्यक्ष सिईओहरु, सर्भेयर संघ र पेशागत बीमा अभिकर्ता संघको उपस्थिति रहेको कार्यक्रममा बीमा ऐन सामूहिक प्रयत्न भएको बताउँदै कार्यान्वयन पनि सामूहिक दायित्व भएको अध्यक्षले धारणा व्यक्त गरे । अध्यक्ष सिलवालले नयाँ बन्ने गरेको बीमा नियमावलीका लागि सघाउन आह्वान गरेका छन् । कार्यक्रमका एक सहभागीले अध्यक्ष सिलवालको भनाई उध्रित गर्दै भने, ‘अब हामीले नियमावली र निर्देशिकाहरु बनाउनुपर्ने छ । त्यसको लागि तपाईहरु सबैले सहयोग गर्नुहोला ।’
कार्यक्रममा बीमा समितिका निर्देशक सुशिलदेव सुवेदीले बीमा ऐन २०७९ का मुख्य मुख्य बुँदाहरुबारे प्रस्तुतीकरण दिएका थिए ।
मिडियालाई प्रवेश नदिइएको सो छलफल कार्यक्रममाजीवन बीमक संघको तर्फबाट नेपाल लाइफका सिईओ प्रविन रमण पराजुलीले मन्तव्य राखेका थिए । उनले नयाँ ऐनको स्वागत गर्दै कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै यस बीचमा आईपरेका व्यवहारिक अप्ठेराहरुलाई बीमा समितिबाट सम्बोधन हुने अपेक्षा व्यक्त गरे । कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीले नयाँ बीमा ऐनले नेपाली बीमा बजारलाई अझै फराकिलो बनाउने विश्वास व्यक्त गर्दै बीमक कम्पनी सबैसँग सहकार्य गरेर ऐन कार्यान्वयन गर्दै अघि बढ्ने बताए । अध्यक्ष क्षेत्रीले नयाँ बीमा ऐनमा सजाय निकै कडा भएको बताउँदै बीमा ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालले नयाँ ऐनको स्वागत गरे भने पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा अभिकर्ताहरुको गुनासो नसुन्ने गरेको दुखेसो गरे । उनले कार्यक्रममा बीमा क्षेत्रका मेरुदण्ड बीमा अभिकर्ताहरुको मागबारे बीमा समितिले नजर अन्दाज गरेको गुनासो गरे ।
काठमाडौंको रविभवनस्थित एक होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर कुमार रायमाझी तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीका सिईओ चन्द्रशेखरन रामामुर्थीले बोलेका थिए । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले बीमा ऐनको कार्यान्वयन समयसीमा तोकेर गनुपर्ने बताएका थिए । अध्यक्ष डा. घिमिरेले हालको नियमन विधिलाई अत्याधुनिक बनाएर डाटा एनालाइसिस गरेर आईटी बेस मनिटरिङ गर्नुपर्ने बताए । हालको व्यवस्थाबाट प्रभावकारी मनिटरिङ सम्भव नभएको बताउँदै उनले डाटाबेस मनिटरिङ निष्पक्ष र वैज्ञानिक हुने बताए ।
कार्यक्रममा जीवन बीमा कम्पनीका अध्यक्षहरुको तर्फबाट सूर्या लाइफका केशव प्रसाद भट्टराईले पनि मन्तव्य राखेका थिए ।