बीमा कम्पनीहरुले एकिकृत कारोबारको लागि मिति सार्न थाले, कसको एकीकृत कारोबार कहिले ?

२५ आश्विन २०७९, मंगलवार १०:५३

काठमाडौं । हालसम्म बीमा समितिबाट १५ वटा बीमा कम्पनीले मर्जरको लागि सैद्धान्तिक सहमति पाएका छन् । बीमा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीमध्ये हालसम्म दुई वटाले एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मात्रै एकीकृत कारोबार सुरु गरेका छन् ।

त्यस्तै सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।दुवैको विशेष साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौता पास भइसकेको छ । अन्य कम्पनीहरुको एकीकृत कारोबार तथा मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित गर्न ढिलाई भइरहेको छ ।

अन्य कम्पनीहरुले प्रारम्भिक सम्झौता गरिसकेका छन् भने एकीकृत कारोबारको लागि छलफलको चरणमा रहेका छन् । बीमा कम्पनीहरुको एकिकृत कारोबारको लागि मिति नै तोकिसकेको भएपनि बीमा कम्पनीहरुले उक्त मितिमा नभ्याइने भएपछि मिति सार्नको लागि बीमा समितिमा निवेदन दिईसकेका छन् ।

मुख्यरुपमा जीवन बीमा कम्पनीहरुमा यस्तो समस्या देखिएको अधिकारीहरु बताँउछन् । जीवन बीमा कम्पनीहरुको मर्जर त्यति सजिलो नभएको कारण मिति सार्नु स्वभाविक नै रहेको उनीहरुको धारणा छ ।
जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएसन र डिडिएको कारणले समय थप भएको छ । मर्जर प्रकृयामा रहेका जीवन बीमा कम्पनीहरुले एकिकृत कारोबारको मिति सार्न बीमा समितिमा निवेदन दिईसकेका छन् ।

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीहरुले तोकेको समयमा मर्जर सम्बन्धी काम नसकिएको भन्दै एकीकृत कारोबारको लागि थप समय मागेका छन् ।
जीवन बीमा कम्पनीहरुको मर्जर त्यति सहज भने छैन । मर्जरको प्रकृयामा रहेका नयाँ र पुराना जीवन बीमा कम्पनीहरुबीच स्वाप रेसियो निर्धारणमा समस्या उत्पन्न हुनसक्नेछन् ।
जीबन बीमा कम्पनीहरुको जीवन बीमा कोष, चुक्ता पुँजि तथा मुनाफा आदिका कारण स्वाप रेसियो निकै फरक पर्नसक्नेछ । बोनश दरको भिन्नताको कारण पनि उच्च बोनस दर हुने बीमा कम्पनीले कमजोर बोनस दर हुने कम्पनी गाभिँदा धेरै समस्याहरु आउने देखिन्छ ।

व्यवसायमा दीर्घकालीन असर पार्न सक्ने जोखिमका कारण पनि वित्तीय स्वस्थता रहेको बीमा कम्पनीले कमजोर वित्तीय स्वस्थता रहेको कम्पनी गाभ्दा लाभ भन्दा हानी बढी हुने भएकाले बीमांकी एक्चुरी र डिडिएपछि पछि जीवन बीमा कम्पनीहरुको मर्जर भाँडिने सम्भावना पनि धेरै नै रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।
पछिल्लो पटक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर अन्तिम चरणमा पुगेको छ । उनीहरुले आगामी कार्तिक ७ गते लक्ष्मी पुजाको दिनमा एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।

मर्जरको लागि गत असार ३० गते समितिबाट पहिलो सैद्धान्तिक सहमति पाएपनि कम्पनीले आगामी मंसिर देखि एकीकृत कारोबार गर्ने भएका छन् ।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले पनि गत साउन १ गते मर्जरको लागि समितिबाट सैद्धान्तिक सहमति पाएका थिए । तर, यी कम्पनीहरूले आगामी फागुन देखि मात्रै एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सलाई मर्जरको लागि समितिले गत असार १३ गते सैद्धान्तिक सहमति दिएको छ । यी कम्पनीले पनि यहि महिना असोजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । तर कम्पनीको डिडिएको काम भने भईरहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत जेठ ३ गते मर्जरको लागि बीमा समितिबाट सैद्धान्तिक सहमति पाएसँगै यी कम्पनीहरूले आगामी असोज देखि एकीकृत कारोबार सुरु गर्ने भनेपनि डिडिएको काममा लागि परेकोले मंसिर सम्म सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढाइरहेका छन् ।

उक्त तीन वटा कम्पनी मर्जर गर्दा प्राइम लाइफ सबैभन्दा बलियो हुने र अन्य पछाडि रहेका कम्पनीहरुले प्राइम लाइफसँग मर्जर गर्दा निकै ठूलो शेयर हिस्सा गुमाउनु पर्ने हुँदा समस्या उत्पन्न भएको बुझिएको छ । यसलाई मिलाएर छिट्टै मर्जरमा जाने तयारी भइरहेको बुझिएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये पहिलो मर्जरमा जाने कम्पनी बन्ने तरखर रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पवनकुमार खड्काले बताएका छन् । सूर्या लाइफ ज्योति लाइफसँग मर्जर गर्दैछ । ज्योति लाइफ नयाँ कम्पनी हो भने सूर्या लाइफ पुरानो कम्पनी ।

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले बीमा समितिबाट गत असार २९ गते सैद्धान्तिक सहमति पाएका थिए । यी कम्पनीले पुस २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने जनाएका छन्।
प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले गत साउन २८ गते बीमा समितिबाट मर्जरको लागि सैद्धान्तिक सहमति पाएका थिए ।

कम्पनीहरूले आगामी माघदेखि एकीकृत कारोबार सुरु गर्ने बताएका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीहरूले गत असार ३० गते समितिबाट सैद्धान्तिक सहमति लिएका थिए । तर, माघ देखि मात्रै एकीकृत कारोबार सुरु गर्ने जनाएका छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले मर्जरको लागि गत साउन १ गते समितिबाट मर्जरको लागि सैद्धान्तिक सहमति पाएका हुन् । कम्पनीहरूले आगामी पुसबाट मात्रै एकीकृत कारोबार सुरु गर्ने जनाएका छन् ।

२०७८ चैत १० गते बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।
समितिको नयाँ व्यवस्थाअनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ । १ वर्षभित्र पुँजी वृृद्धि गर्नुपर्ने समितिको निर्देशन पश्चात् रकम थप गर्न नसक्ने बीमा कम्पनीहरूले मर्जरको बाटो रोजेका हुन् ।

बाँकि कम्पनीहरुले पुँजि पुराउन नयाँहरुले पुुँजि थप गर्न संस्थापक शेयरधनीलार्य आग्रह गरिसकेको छ भने पुरानो केही कम्पनीे हकप्रद जारी गर्ने तरखरमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*