नयाँ बीमा ऐनको चारैतिरबाट स्वागत, बीमा क्षेत्र उत्साहित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रमाणिकरण गरेको बीमा विधेयक अब औपचारिक रुपमा बीमा ऐन २०७९ बन्न पुगेको छ । नयाँ बनेको बीमा ऐनलाई बीमाकर्मीहरुले स्वागत गरेका छन् ।
पुरानो बीमा ऐनका कारण बीमा क्षेत्रमा नियमन तथा विस्तारमा समस्या भएपछि २०७५ साल असारमा नयाँ बीमा ऐनको मस्यौदा संघीय संसदमा प्रस्तुत भएको थियो । संसदमा लामो छलफल पछि बीमा ऐन पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भएको हो ।
नयाँ बीमा ऐनको मस्यौदादेखि नै कडा मेहनत गरेका बीमा समितिका निर्देशक सुशिल सुवेदीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बीमा ऐनको स्वागत गरेका छन् । सुवेदीले लेखेको छन्, ‘करिब दशक लामो अथक मेहनत पश्चात अन्ततः बीमा ऐन पारित भई प्रमाणिकरण भएको छ । बीमा क्षेत्रको यस ऐतिहासिक कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सम्पूर्ण वीमक, बीमित, नेपाल सरकार, संघीय संसद, राष्ट्रपति कार्यालय लगायत सम्पूर्ण व्यक्ति तथा संघ संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ !!’
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष तथा बीमा बिज्ञ रविन्द्र घिमिरेले नयाँ बीमा ऐनको स्वागत गर्दै सफलताको शुभकामना दिएका छन् । अध्यक्ष घिमिरेले नेपाली बीमा उद्योगलाई नयाँ युगमा पुर्याउन बीमा ऐन सफल हुने विश्वास व्यक्त गरेका छन् । घिमिरेले आफ्नो स्टाटसमा लेखेका छन्, ‘बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको बीमा ऐन, २०७९ प्रमाणिकरण भएको छ । नेपालको बीमा उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि धेरै कामहरु गर्नु अपरिहार्य भइरहेको अवस्थामा मौजूदा ऐन बाधक रहेको थियो । नयाँ ऐन प्रगतिशिल छ । यसले बीमा उद्योग नयाँ युगमा प्रवेश गर्नका लागि सम्भावनाको ढोकाहरु खोलिदिएको छ । यस उपलक्ष्यमा बीमा ऐनको डिजाइनर तत्कालिन अध्यक्ष प्रा.डा.फत्त बहादुर के.सी. तथा यसलाई यथासमयमा संसदबाट पास गराउन सक्रिय भूमिका खेल्नु हुने वर्तमान अध्यक्ष सूर्य प्रसाद सिलवालज्यूहरु विशेष धन्यवादका पात्र हुनुहुन्छ भने सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माज्यूहरुको भूमिका सह्राहनिय मान्नु पर्दछ ।’
अध्यक्ष घिमिरेले बीमा प्राधिकरण बनेपछि बीमाको दायरा फराकिलो पार्ने जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘बीमा समिति बीमा प्राधिकरणमा परिवर्तन हुनुको साथै प्राधिकरणको क्षेत्राधिकार फराकिलो बनेको छ, थप जिम्मेवार बनाएको छ । एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनु पर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्धारा हुनेछ । प्राधिकरणले बीमा सम्बन्धि दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ, बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ, बीमित हितकोष स्थापना गर्न सक्नेछ, तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ, ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको छ । बीमा क्षेत्रमा कार्यरत विभिन्न पेशेवार प्रोफेसनलहरुको वृत्ति बिकास हुनेछ । समग्रमा भन्नुपर्दा आम जनताले सर्वसुलभ ढंगबाट बीमा सेवा प्राप्त गर्ने, बीमाको पहूंच बृद्धि गर्ने, बीमाको पेनिट्रेशन र डेन्सिटी बढाउने संरचनाको बिकास हुनेछ ।
यस घडिमा नियामक निकाय, बीमा सेवा प्रदायक कम्पनी तथा संस्थाहरु, अभिकर्ता, सर्भेयर, ब्रोकर, पत्रकार, अनुसन्धाकर्ता, प्राध्यापक, बिश्लेषक, बीमित र बीमित हितमा काम गर्ने अभियन्ताहरु, बीमा क्षेत्रको हित चाहने सबै शुभेक्षुक सबैलाई बधाई तथा शुभकामना ।’
सामाजिक सञ्जालमा शुभकामना दिँदै बीमाकर्मी शंकर लामिछानेले नयाँ बीमा ऐनको स्वागत गर्दै यसको सफलताको शुभकामना व्यक्त गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट तीन पटक नेपाल टप एजेन्सी बनिसकेका लामिछानेले स्टाटसमा लेखेका छन्, ‘नियमन निकाय बीमा समिति अब बीमा प्राधिकरण बनेसँगै यो हाउगुजी मात्रै नभई आम बीमितबर्ग, बीमा कम्पनी, अभिकर्ता र अझ देशको अर्थतन्त्रको हितमा काम गर्न सकोस । यो ऐनले बीमा बजारलाई थप ब्यवस्थित र मर्यादित बनाउन सकोस् । स्वागत अनि शुभकामना छ ।’