दशैंको दक्षिणा कसरी सदुपयोग गर्ने ?

२१ आश्विन २०७९, शुक्रबार १४:००

काठमाडौं । नेपाली हिन्दुहरुको महान् चाड दशैं सकिनै लागेको छ । दशैँ भन्ने मान्यजनबाट आर्शिबाद, भेटघाट र टीका–दक्षिणा सबैको मानस्पटलमा घुम्छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी पनि हो ।

दशैंको दक्षिणा खर्च गर्न अनेक बाहानाहरु हुन्छन तर तपाईहरु मध्ये सबैको मन खर्चै गर्ने खालको नहुन पनि सक्छ । कतिपय अवस्थामा थोरै पैसाको सदुपयोग गरेर कसरी राम्रो ठाउँमा लगानी गर्ने भन्ने ज्ञान नहुँदा स्वत खर्च भएर त्यो रकम सकिन्छ ।

थोरै लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्याउन सक्छ । चाहना भएमा दशैंमा प्राप्त दक्षिणा जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर त्यसका लागि सानो रकम कसरी र कहाँ सदुपयोग गर्ने भन्ने कुराको अनभिज्ञता तोड्न जरुरी छ ।

सानै रकमबाट सामान्य बचत शुरु गर्न पनि सकिन्छ । जहाँ तपाईको दक्षिणाकोे सही सदुपयोग हुनसक्छ । दशैंमा जम्मा भएको दक्षिणा बैंक खाता सञ्चालन गरेर जम्मा गर्न पनि सकिन्छ । भनिन्छ नि, आजको बचत नै भविष्यको सारथी हो ।

सानो सानो पैसा जम्मा गरेर नै धेरै बचत हुने गर्दछ । त्यसैले बैंकमा बचत गर्नु पनि राम्रो हुन्छ । थोरै पैसाले कुनै ठूलो काम नबनेपनि बिस्तारै जम्मा गर्दे गएको रकमले पछि भविष्यमा कुनै ठूलो काम गर्न पनि सकिन्छ ।

त्यस्तै दशैंमा जम्मा भएको रकमबाट बीमा गर्न पनि सकिन्छ । बीमा गर्नका लागि ठूलै रकम चाहिन्छ भन्ने पनि छैन । आफूलाई उपयुक्त हुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । रकम चुक्ता गर्ने समय कतिपयलाई बोझिलो लाग्न पनि सक्छ । त्यसैले दशैंपछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दशैंमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ ।

यसका साथै दशैंमा जम्मा भएको रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । शेयर बजारमा लगानी गर्नका लागि ठुलै पुँजी चाहिन्छ भन्ने पनि होइन । सानो रकमबाट पनि शेयर बजारमा लगानी गर्न सकिन्छ । यसका लागि तपाईहरुले शेयर बजारको बारेमा राम्रोसँग बुझ्न र अध्ययन गर्न भने जरुरी छ । सुरुमा कम्पनीहरुले निष्काशन गर्ने आइपीओबाट पनि लगानी गर्न सक्नुहुनेछ ।

दशैंपछि धेरै कम्पनीका आइपीओहरु बजारमा आउने तयारीमा रहेकाले तपाईले आफ्नो दशैँको दक्षिणालाई त्यसैमा लगानी गर्नपनि सक्नुहुनेछ । शेयरमा लगानी गर्नका लागि धेरै रकम पनि नचाहिने भएकाले दशैंमा जेजति रकम जम्मा हुन्छ, त्यसबाटै पनि शेयर किन्न सकिन्छ । सानो रकम अर्थात् एक हजार रुपैयाँबाटै शेयरमा लगानी गर्न सकिन्छ । त्यसैले फजुल खर्च घटाएर ससानो रकमबाट आजैदेखि बचत शुरु गर्नुहोस् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*