हेटौडास्थित डाटा रिकभरी सेन्टर आजबाट सुचारु हुँदै, बीमा समिति सबै निकायको डाटा सुरक्षित
काठमाडौं । गत बिहिबार आगोलागीपछि बन्द भएको हेटौडास्थित सरकारी डाटा रिकभरी सेन्टर आजबाट सञ्चालनमा आएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठले बिहिवार रातिबाट सर्भरहरु सुचारु गर्न थालिएकोमा आज साँझसम्म सबै सर्भरहरु सञ्चालनमा आइसक्ने बताए ।
गत बिहिवार हेटौडाको हुप्रा चौरमा रहेको डाटा रिकभरी सेन्टरको पावर ब्याकअप सेन्टरमा आगोलागी हुँदा बीमा समितिसहितका दर्जनौं सरकारी कार्यालयका तथ्याङ्कहरु रहेको डाटा सेन्टर बन्द भएको थियो । त्यसयता धेरै क्षेत्रका सर्भरहरुले काम गर्न सकेका थिएनन् । ब्याट्री विस्टोफ भई आगोलागी हुँदा पावर ब्याकअप सिष्टम कोल्याप्स भएको थियो । काठमाडौंबाट नयाँ ब्याट्री पुर्याएर जडान गर्न समय लागेको केन्द्रले जनाएको छ । बिहिवार विहानसम्म ब्याट्री रिप्लेसमेन्ट गर्ने काम सम्पन्न भएको र हिजैरातिबाट सर्भरहरु सुचारु गर्न थालिएको केन्द्रले जनाएको छ ।
बीमा समितिमा बीमा अभिकर्ता तथा अन्य तथ्याङ्कहरु समेत सोही सर्भरमा रहेका थिए । डाटा सेन्टरमा आगोलागी भएपनि तथ्याङ्कहरु सबै सुरक्षित रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक श्रेष्ठले बीमापोष्टलाई जानकारी दिए । उनका अनुसार सर्भर रहेको आईटी खण्डमा कुनै पनि क्षति नभएको र ब्याट्री तथा पावर ब्याकअपमा मात्रै क्षति पुगेको बताए । उनका अनुसार बीमा समिति सहितका सबै सरकारी निकायका तथ्याङ्कहरु सुरक्षित रहेका छन् ।
धेरै वटा सर्भरहरु रहेकोले पालैपालो सुचारु गरिने भएकोले आज साँझसम्म सबै सुचारु भइसक्ने उनले बताए ।