नवौं राष्ट्रिय खेलकुदमा आवद्ध नौ हजार खेलाडीको बीमा राष्ट्रिय बीमा कम्पनीमा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सम्पूर्ण खेलाडीहरुको बीमा राष्ट्रिय बीमा कम्पनीमा हुने भएको छ । राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा गर्ने भएको छ। त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौं राष्ट्रिय खेलकुद समितिले जनाएको छ ।
बीमाको अवधि १ महिना रहेको छ। प्रत्येकको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको हो। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ।