गरिमा लघुबीमा कम्पनी दर्ता गर्ने भन्दै गरिमा बैंक सञ्चालकहरुद्धारा २५ करोडभन्दा बढि घुस रकम संकलन

१२ आश्विन २०७९, बुधबार १०:१७

काठमाडौं । बीमा समितिले घुस सेटिङमा लघुबीमा कम्पनी स्थापना गर्न लागेको पुष्टि भएको छ । गरिमा विकास बैंकका सञ्चालकहरुले सार्वजनिक सूचनामार्फत लघुबीमा कम्पनी दर्ता गर्न आह्वान गर्दै घुस रकम संकलन भइरहेको तथ्य खुलेको छ । सञ्चालकहरुको आग्रहमा अघि बढाइएको परियोजनामा बैंकका कर्मचारीहरुले लघुबीमा कम्पनी दर्ता गर्दा बुझाउनुपर्ने घुस बापतको रकम संकलन भइरहेको गुनासो बीमापोष्टमा आईपुगेको छ । उता, बैंकका सिईओ गोबिन्द प्रसाद ढकालले भने संकलन गरिएको रकम फिर्ता गरिने बताएका छन् ।

बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्न भन्दै गत भदौं १० गते सार्वजनिक सूचनामार्फत सात वटा कम्पनी दर्ताको लागि प्रस्ताव आह्वान गरेको थियो । सो सूचना प्रकाशित भए लगत्तै गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्याल तथा बैंकका अन्य सञ्चालकसहितको लगानीमा गरिमा लघु जीवन बीमा र गरिमा लघु निर्जीवन बीमा संस्थापना गर्ने भन्दै प्रक्रिया अघि बढाइएको थियो । सो प्रयोजनको लागि केही महिना अघिदेखि नै घुस रकम संकलन गरिएको थियो । तर, अहिले औपचारिक रुपमै लाइसेन्स खुल्ला गरेपछि प्रतिशेयर बापत अतिरिक्त रकम संकलन गरिरहेको छ ।

नयाँ लघुबीमा कम्पनी स्थापना गर्न बैंकका डेपुटी सिईओ माधव प्रसाद उपाध्यक्षलाई लघुबीमा कम्पनी स्थापना सम्बन्धी जिम्मा दिइएको छ । तर, डेपुटी सिईओ उपाध्यायले घुस रकम नउठाएको दावी गरेका छन् । सो सम्बन्धमा गरिमा विकास बैंकका डेपुटी सिईओ माधव उपाध्यायले गत वर्षदेखि नै लघुबीमा कम्पनी खोल्ने प्रयास भएको र त्यसको लागि सुरुमा एक प्रतिशतले प्रतिबद्धता शुल्क जम्मा गर्न भनिएको र लाइसेन्स नपाएको अवस्थामा सो रकम फिर्ता गर्ने बताए । सो बाहेक कुनै पनि शुल्क नलिएको उपाध्यायले दावी गरेका छन् । ‘हामीले कुनै थप शुल्क लिएका छैनौं, नाम दर्ता गर्दा एक प्रतिशत शुल्क लिएर दर्ता गरेका थियौ । सो रकम बैंक खातामा राखिएको छ ।’

हाल उनै डेपुटी सिईओ उपाध्यायले गरिमा बैंकका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई फोकल पर्सन तोकेर ७५ करोड रुपैयाँ लगानीगर्ने लगानीकर्ताहरु भेला पार्ने काम गरिरहेका छन् । हिजोसम्म बीमा समितिमा गरिमा बैंकले संस्थापना गर्ने लघुबीमा कम्पनी दर्ता भइसकेको छैन ।

लगानीकर्ताहरुले भने गरिमा बैंकका सञ्चालकहरुले स्थापना गर्न लागेको भनिएको लघुबीमा कम्पनीका लागि ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म व्यक्ति हेरेर रकम लिइएको बताएका छन् । गरिमा विकास बैंकको ८ वटा शाखालाई अनाधिकृत रुपमा प्रयोग गरेर सञ्चालकहरुले लघुबीमाको काम गरिरहेका छन् । गरिमा विकास बैंकको काठमाडौ, सर्लाही, चितवन, पोखरालगायतका ८ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई सम्पर्क व्यक्ति तोकेर सार्वजनिक सूचना नै प्रकाशन गरेको थियो । अहिले बैंकले तिनै कर्मचारीहरुमार्फत लगानीकर्ताहरु भेला पार्ने काम भइरहेको छ। बापत अतिरिक्त १०० रुपैयाँ सम्म थप रकम संकलन भइरहेको गुनासो प्राप्त भएको हो । घुस रकम कर्मचारीहरु वा सञ्चालक कसले डिल गरेको भन्ने तथ्य खुल्न बाँकी छ ।

स्रोतका अनुसार गरिमा लघुबीमा कम्पनी दर्ता गर्ने भन्दै २५ करोडभन्दा बढि अतिरिक्त रकम संकलन गरिएको छ । सो रकम केही भुक्तानी भइसकेको विश्वस्त सूत्रको भनाई छ ।

उता, गरिमा विकास बैंकका सिईओ गोविन्द प्रसाद ढकालले लघुुबीमा कम्पनी संस्थापना गर्ने लघुबीमा कम्पनी स्थापना गर्न उठाइएको रकम फिर्ता गर्ने निर्णय भइसकेकोले छिट्टै फिर्ता हुने बताए । सिईओ ढकालले भने, ‘रकम उठाएको सम्बन्धमा फिर्ता गर्न भनिसकेका छौं ।’ सिईओ ढकालले लघुबीमा कम्पनी गरिमा विकास बैंकले संस्थापना गर्न लागेको नभई सञ्चालकहरुको संलग्नतामा स्थापना हुन लागेको समेत बताए । उनले लघुबीमा कम्पनी संस्थापना गर्न लगानीकर्ताहरुबाट संकलन गरिएको रकम बैंक खातामा राखिएको र कुनै पनि बेला फिर्ता लैजाने सक्ने प्रष्ट पारेका छन् ।  –सम्पादन गरिएको ।*

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*