सानिमा जनरल र जनरल इन्स्योरेन्स आजबाट सानिमा जिआईसी बन्दै, कयाल अध्यक्ष बन्न खोज्दा जोडिएको सम्बन्ध
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीचमा आजबाट एक हुने अन्तिम सम्झौतापत्रमा साधारणसभाबाट पारित हुँदैछ । अन्तिम सम्झौतापत्र पारित भएपश्चात कम्पनी कानुनी रुपमा एक हुनेछन् । प्रक्रिया पुरा गरी एकीकृत कारोबार सुभारम्भ गर्न मात्रै बाँकी हुनेछ ।
आज दुवै कम्पनीले आह्वान गरेको विशेष साधारणसभा अबको केही घण्टापछि सम्पन्न हुनेछ । विशेष साधारणसभाले मर्जर सम्बन्धी अन्तिम प्रस्ताव पारित गर्दैछन् । आजको विशेष साधारणसभाबाट आपसमा गाम्ने गाभिने सम्बन्धी प्रस्ताव पारित हुँदैछ । उक्त प्रस्ताव पारित भएपछि दुवै कम्पनीहरु एक हुने बाटोतर्फ अघि बढ्नेछन् । अब बीमा समितिबाट अन्तिम स्वीकृति लिने, कम्पनी रजिष्ट्रारको कार्यालयमा एकीकृत कम्पनीको नाममा कायम गर्ने र सेबोन र नेप्सेबाट स्वीकृत लिने कामहरु मात्रै बाँकी रहेछन् ।
दुवै कम्पनी २०७४ सालमा सञ्चालनमा आएका हुन् । सञ्चालनको पाँच वर्षमै दुवै कम्पनीहरु मर्जरमा जाने निर्णय गरी अन्तिम प्रक्रिया आज पुरा हुँदैछ । बीमा समितिले अघि सारेको मर्जर सम्बन्धी नीतिका कारण दुई कम्पनी मर्जरमा अघि बढेका थिए । सुरुवातमा जनरल इन्स्योरेन्स कम्पनीले अजोड इन्स्योरेन्स कम्पनीसँग मर्जरको प्रयत्न गरेको थियो । अजोड इन्स्योरेन्सले बहुमत सञ्चालकहरु समेत दिन तयार भएको उतिबेलाका वार्तामा सहभागीहरुको भनाई छ । तर, अध्यक्ष नपाउने भएपछि अजोडसँग वार्ता नटुंग्याई सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँग वार्ता अघि बढाइएको थियो । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले मर्जरमा जाने भइसकेपछि अध्यक्षमा नअल्झाउने भन्दै अध्यक्ष पद छोड्न तयार भएपछि जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया अजोडसँगको सम्बन्ध अन्त्य गर्दै सानिमातर्फ अघि बढेको थियो ।
जनरल इन्स्योरेन्स कम्पनीका लागि सानिमा ग्रुपले प्रबद्र्धन गरेको सानिमा जनरलसँग सहकार्य गर्नु महत्वपूर्ण कुरा थियो । अध्यक्ष कुनाल कयालको पदलोलुप गरेको आरोप जनरल इन्स्योरेन्स कम्पनीभित्रका केही सञ्चालकहरुले लगाएका छन् । जनरल इन्स्योरेन्स कम्पनीमा पाँच वर्ष अध्यक्ष रहँदा समेत कयालले संस्थागत सुशासन कायम गर्न नसकेको, कर्मचारीहरुलाई चेन अफ कमाण्डमा राख्न नसकेको तथा खिलुङ कालिका घोटाला काण्ड जस्ता सेटिङमा सहभागी भएको आरोप लाग्दै आएको छ । जिआईसीका इमान्दार सञ्चालकहरुले मर्जर पनि अध्यक्ष कयालले यस्तै गतिविधि राख्ने हुन कि सुधार हुन्छ ? भन्दै प्रश्न गरिरहेका छन् ।