जनरल इन्स्योरेन्सका सिईओ रामचन्द्र श्रेष्ठ विशेष साधारणसभा छोडेर विदेश भ्रमणमा, आजको साधारणसभामा अनुपस्थित हुने
काठमाडौं । जनरल इन्योरेन्स कम्पनीको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीले सानिमा जनरल इनस्योरेन्स कम्पनीसँग मर्जरमा जान लागेकोले आज अन्तिम सम्झौता स्वीकृत गर्न विशेष साधारणसभा आह्वान गरिएको छ । जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएपछिको आज यस्तो ऐतिहासिक दिन हो, जुन अब उक्त कम्पनीले फेरि गर्न पाउनेछैन । तर, कम्पनीका सिईओ रामचन्द्र श्रेष्ठले भने कम्पनीको ऐतिहासिक अवसरमा उपस्थित हुन छोडेर अफ्रिकी मुलुक घानामा रमाइरहेका छन् ।
विशेष साधारणसभा कुनै पनि कम्पनीका सिईओहरुका लागि निकै महत्वपूर्ण हुन्छ । तर, जनरल इन्योरेन्सका सिईओ श्रेष्ठल किन मर्जर सम्बन्धी अन्तिम विशेष साधारणसभा नै छोडेर विदेश भ्रमणमा गए भन्ने कुरा खुल्न बाँकी छ । सिईओको अनुपस्थितिमा उनले गर्ने काम डेपुटी सिईओ विनेश मास्केले गर्ने जनाइएको छ । महत्वपूर्ण दिनमै सिईओ अनुपस्थित हुने भएपछि जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु भने तीन छक परेका छन् । एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सिईओ श्रेष्ठ गैर जिम्मेवार ढंगले विदेश गएको आरोप लगाएका छन् ।
मर्जरपछि डेपुटी सिईओ बन्नुपर्ने र फेरि विदेश जान धेरै नै कठिन हुने भएकोले मर्जर कार्यक्रम नै छोडेर विदेश उडेको चर्चा जनरल इन्स्योरेन्स कम्पनीभित्र फैलिएको छ । यद्यपि सिईओ श्रेष्ठले विदेश भ्रमण सञ्चालक समितिले नै स्वीकृत गरेकोले विदेश गएको जनाइएको छ । कम्पनीले भने विशेष साधारणसभा सम्बन्धी निर्णय हुनुपूर्व नै भ्रमण सम्बन्धी निर्णय भइसकेकोले आजको कार्यक्रममा अनुपस्थित भएर खासै फरक नपर्ने भएकोले विदेश भ्रमणमा गएको जनाएको छ ।
कम्पनीले सिईओ श्रेष्ठ नेपाल बीमक संघको कार्य समिति सदस्य भएको र सघले कार्य समितिका सबै सदस्यहरुलाई अनिवार्य गरेकोले पनि विदेश जानु परेको बताए । बीमा सम्बन्धी अन्तर्राष्ट्रिय फोरममा उपस्थिति जनरल इन्स्योरेन्स कम्पनीका लागि महत्वपूर्ण भएकोले बोर्डबाटै त्यसतर्फ जान अनुमति दिएको कम्पनीको भनाई छ ।