२५ अर्बको बैंक बनाउन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, यस्तो बन्ने छ नयाँ बैंक
काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाने सम्झौता गरेका छन् । आज सम्पन्न भएको अन्तिम छलफलपछि दुवै बैंक मिलेर कूल २५ अर्ब रुपैयाँ चुक्ता पुँजि भएको बैंक बनाउने सहमति भएको हो।
मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसी बैंकका रमेश राज अर्याल हुनेछ् भने कुमारीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल डपुटी सिईओको रुपमा काम गर्नेछन् । त्यस्तै नयाँ बन्ने बैंकको अध्यक्ष हाल एनसिसीका उपेन्द्र केशरी न्यौपाने रहनेछन् । पुस भित्रै मर्जर प्रकृया सक्ने गरी मर्जर सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
पुँजि संरचना अनुसार दुई बैंकको कूल चुक्ता पुँजि २५ अर्ब ८४ करोड रुपैयाँ हुनेछ । उक्त चुक्ता पुँजिमा गत आवका लाभांश थप गर्दा २७ अर्ब नजिक पुग्नेछ । हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ छ । तथ्याङ्क अनुसार भदौंसम्मको विवरण अनुसार एनसिसीमा एक खर्ब २८ अर्ब रुपैया निक्षेप छ भने कुमारीको एक खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप जम्मा छ। दुवै बैंकको मर्जरपछि कूल निक्षेप तीन खर्ब ६ अर्ब रुपैयाँ भन्दा माथि हुनेछ । एनसीसी बैंंकको कर्जा लगानी एक खर्ब १८ अर्ब रुपैयाँ छ भने कुमारी बैंकको एक खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानीसहित कूल कर्जा लगानी दुई खर्ब ७७ अर्ब रुपैयाँ हुनेछ।
आव २०७८।०७९ को वित्तीय विवरण अनुसार एनसीसी बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने कुमारी बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ । अब डिडिएमा ठूलो अन्तरमा आएको अवस्थामा बाहेक १००ः१०० स्वाप रेसियोमा दुई बैंकको मर्जर हुनेछ।