सर्वोत्तम सिमेन्टको आईपिओ रोकियो, अर्को आर्थिक वर्ष नभई नखुल्ने
२७ बैशाख २०७८, सोमबार ०८:२३

काठमाडौं । आवश्यक तयारी नपुगी बुक बिल्डिङमार्फत आईपिओ जारी गर्ने घोषणा गरेको सर्वोतम सिमेन्टको आईपिओ जारी सम्बन्धी प्रक्रिया चालु आर्थिक वर्षको लागि रोकिएको छ ।
पहिलो पटक बुक बिल्डिङ् प्रक्रियामार्फत आईपिओ जारी गर्न लागेको कम्पनीको आफ्नै कानुनी प्रक्रिया पूरा नभएका कारण चालु आर्थिक वर्षका लाग अघि बढाउन नमिल्ने भएको हो । तीन पूरा आर्थिक वर्षको वित्तीय विवरण पेश गर्नुपर्नेमा पहिलो आर्थिक वर्षको साउन १२ गतेदेखि कम्पनीले कारोबार सुरु गरेकाले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा आईपिओ जारी गर्न नमिलेको कम्पनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
अब उक्त कम्पनीको आईपिओ चालु आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित भएपछि मात्रै प्रक्रिया अघि बढ्नेछ । असार मसान्तसम्मको आर्थिक विवरण साउनमा प्रकाशित गरेपछि आईपिओ प्रक्रिया अघि बढ्नेछ ।