सुर्खेतको चिङगाड गाउँपालिकामा बीमा समितिको अन्तरक्रिया सम्पन्न
काठमाडौं । बीमा समितिले सुर्खेत जिल्लाको चिङगाड गाउँपालिकामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिको कर्णाली प्रदेश कार्यालयको आयोजनामा सुर्खेत जिल्लाको विकट चिङगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सयौं सर्वसाधारण तथा जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
बीमा समितिको कर्णाली प्रदेश कार्यालय प्रमुख उप निर्देशक पदम प्रसाद सोडारीको अध्यक्षतामा आतिथ्यमा गाउपालिकाका अध्यक्ष बोध बिक्रम जिसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष मीना कुमारी रोकाया, प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमाल, सबै वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चिङगाड गाउपालिकाको अध्यक्ष जिसीले जनताको जीउधनको सुरक्षा गर्न र वित्तीय गतिविधि बढाउनको लागि अति नै जरुरी भएकोले गाउपालिकाले बीमा समितिको प्रदेश कार्यालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष जिसीले बीमा जनताकै लागि निकै महत्वपूर्ण रहेकोले बीमा जागरण अभियान सञ्चालन गरेर जनताको जीउधन रक्षा गर्न पहल गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष जिसीले गाउँपालिकाले बीमा सचेतनाबारे अभियान नै सञ्चालन गरेर जनताको घर घरमा पुग्ने बताए ।
कार्यक्रममा चिङगाड गाउँपालिकाकी उपाध्यक्ष मीना कुमारी रोकायाले बीमा समितिको प्रदेश कार्यालय सञ्चालनमा आएसँगै कर्णालीको दुर दराजमा बीमा सचेतना पुगेकोमा खुशी व्यक्त गर्दै आम जनताले आफ्ना पशुधन, बाली तथा भौतिक सम्पत्ति तथा जीवन बीमा गरेर जोखिम हस्तान्तरण गर्न आह्वान गरिन् । त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमालले बीमामार्फत जनताको जीउधनको सुरक्षा गर्दा सरकार, जनता र बीमा कम्पनी सबैलाई फाइदा हुने बताए ।
कार्यक्रममा बीमा समितिका कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले बीमा सार्वजनिक सेवा भएकोले बीमा कम्पनीहरुले सेवा दिन्न भन्न नपाइने भएकोले कुनै पनि बीमा कम्पनीले कृषि बीमा गर्न नमानेमा बीमा समितिको प्रदेश कार्यालय वा केन्द्रीय कार्यालयमा उजुरी गर्न, गुनासो दर्ता गर्न आह्वान गरे । उनले बीमा समिति अब बीमाको प्रचारको लागि गाउँ गाउँ पसिसकेकोले बीमा कम्पनीहरु पनि बिनाशर्त गाउँ गाउँमा पुगेर जनतालाई सेवा दिन आह्वान गरेका छन् ।
बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले सञ्चालन गरेको सो अन्तरक्रिया कार्यक्रममा स्थानीय किसानहरुले बीमा सम्बन्धी जिज्ञाशा राखेका थिए ।