कोरोना बीमाको रकम राष्ट्रिय बीमा कम्पनीले नपाउने

४ आश्विन २०७९, मंगलवार २०:११

काठमाडौं । कोरोना बीमाको रकम सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले नपाउने भएको छ।  मन्त्रिपरिषदको बैठकले सरकारमा नाम रहेको दायित्व मध्ये हाललाई १ अर्ब तिर्ने निर्णय गरिसकेको छ।  अर्थमन्त्रालयको स्रोतका अनुसार कोरोना बीमाको पहिलो चरणको रकम राष्ट्रिय बीमा कम्पनीलाई तत्काल नदिने भएको हो ।

सरकारले डेढ बर्षपछि कोरोना रकम दिने घोषणा गरेको रकम तत्कालै अन्य निजि कम्पनीहरुलाई दिने तयारी भईरहेको अर्थमन्त्रालयको स्रोतले जनाएको छ ।बीमा समितिको खातामा भने उक्त रकम नआईसकेको कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् ।सरकारले दिएको रकम सरकारी कर्मचारीलाई नै किन पहिला दिने  भन्दै निजि कम्पनीहरुलाई नै प्राथमिकतामा राख्ने तयारी भईरहेको उनले बीमापोष्टलाई बताए । यस बिषयमा बीमा समितिको बोर्डमा समेत छलफल भईसकेको छ ।

औपचारिक रूपमा रकम निकासा गर्नेसम्बन्धी पत्र बीमा समितिमा आईसकेको छैन । रकम बीमा समितिको खातामा आएपछि मापदण्डअनुसार भुक्तानी गर्नुपर्ने सम्पूर्ण दायित्व सरकारको भएको उनले बताए ।तर, पनि बाँकी रकम कसरी जुटाउने भन्ने बारेमा कम्पनीहरूसँग छलफल गरिने उनको भनाइ छ । विगतका दिनमा  राष्ट्रिय बीमा कम्पनीले कोरोना बीमाको रकम आफन्तहरुलाई पहिलो प्राथमिकतामा राख्दै दिएको भन्दै अर्थमन्त्रालयले पहिलो चरणको रकम कम्पनीलाई नदिने तयारी गरेको स्रोतले जनाएको छ।

हालसम्म झन्डै पाँच अर्ब रूपैयाँ भुक्तानी गरिएको र सरकारले ११ अर्ब ८२ करोड भन्दा बढी रकम दिन बाँकी रहेको छ। कोरोना बीमा मापदण्ड २०७७ मा साढे तीन अर्ब रुपैयाँभन्दा माथिको रकम सरकारले ब्यहोर्ने जनाएको छ। आर्थिक बर्ष २०७७ को साउन १६ गते अर्थ मन्त्रालयले साँढे तीन अर्ब रुपैयाँभन्दा माथि ब्यहोर्ने सचिवस्तरीय निर्णय गरेको थियो।

बीमा समितिका अनुसार एक लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । यो दाबी अनुसार बीमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपैयाँ हुन आउँछ। अहिलेसम्म ५५ हजारको हाराहारीले कोरोना बीमा बापतको रकम पाएको समितिको भनाई रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*