जीवन बीमा कम्पनीहरुमा एकल बीमा शुल्कका पोलिसी घट्दै, १९ बीमा कम्पनीहरुमा कसको अवस्था कस्तो ?

२ आश्विन २०७९, आईतवार १६:१०

काठमाडौं । हाल सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनीहरुको एकल बीमाशुल्क घटेको बीमा समितिले प्रकाशन गरेको तथ्यांकले देखाएको छ । अघिल्लो आवको तुलनामा कूल एकल बीमा शुल्क २५.८१ प्रतिशतले घटेको छ । एकल बीमाशुल्कले बीमा कम्पनीलाई नै घाटा पुर्याउन थालेपछि बीमा कम्पनीहरुले स्वनियमनको विधिमार्फत एकल बीमा शुल्कका पोलिसीहरु घटाउँदै लगेका छन् । साथै बीमा समितिले पनि एक बीमापोलिसी निरुत्साहित गर्न आग्रह गर्दै आएको छ ।

बीमा समितिको निर्देशन बमोजिम अधिंकाश जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक बर्षको तुलनामा एकल बीमाशुल्कका बीमा पोलिसी उल्लेख्य मात्रामा घटेको पाइएको हो । एकल बीमा शुल्कका पोलिसीहरुमा बीमाभन्दा पनि गलत धन्दा मौलाएको तथा बीमा कम्पनीहरुलाई समेत घाटा हुन थालेपछि यस्तो बीमाशुल्कप्रति बीमा कम्पनीहरु स्वयम् नै आकर्षित हुन छोडेको गत आवको तथ्याङ्कले देखाएको छ ।

१९ जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानको एकल बीमाशुल्क भने गरेको छैन भने पाँच बीमा कम्पनीको एकल बीमाशुल्क आर्जन बढेको र अन्य १३ वटा बीमा कम्पनीको भने घटेको बीमा समितिको तथ्यांकमा उल्लेख रहेको छ ।

जीवन बीमा कम्पनीहरुले एकल बीमाशुल्क अन्तर्गत बीमालेख बिक्रीबाट चार अर्ब १ करोड २७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमाशुल्क अन्तर्गत बीमालेख बिक्रीबाट ५ अर्ब ४० करोड ८४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको एकल बीमाशुल्क आर्जन २५.८१ प्रतिशतले घटेको छ । बीमा समितिको निर्देशन बीमा कम्पनीहरुले पालना गरेको घटेको तथ्यांकबाट पुष्टि भएको छ ।

Source : Beema Samiti

वृद्धिदरको आधारमा

एकल बीमाशुल्कको आधारमा बीमा समितिको तथ्यांक अनुसार हेर्ने हो भने सिटिजन लाइफ अगाडि रहेको छ । कम्पनीको एकल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १६३ प्रतिशतले बढेको छ ।

कम्पनीको एकल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनाम १६३।८४ प्रतिशतले बढेर ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १५ करोड रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेको थियो ।

दोस्रोमा प्राईम लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको एकल बीमाशुल्क ५५ प्रतिशतले बढेर २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड रुपैयाँ एकल बीमाशुल्क आर्जन गर्न सफल भएका छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको एकल बीमाशुल्क आर्जन ३८ प्रतिशतले बढेर ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको एकल बीमाशुल्क ३१ करोड रुपैयाँ रहेको थियो ।

चौथौमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा कम्पनीको एकल बीमाशुल्क आर्जन ३६ प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको एकल बीमाशुल्क आर्जन ११ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, युनियन लाइफको एकल बीमाशुल्क आर्जन १३ प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको एकल बीमाशुल्क आर्जन १४ करोड रुपैयाँ रहेको थियो ।

१३ कम्पनीको एकल बीमाशुल्क आर्जन घट्यो

बीमा समितिको तथ्याङ्क अनुसार अघिल्लो आवको तुलनामा गत आवमा १३ वटा जीवन बीमा कम्पनीहरुको एकल बीमा शुल्क घटेको छ । केही कम्पनीहरुको एकल बीमा शुल्क त उल्लेख्य मात्रामा घटेको छ । नियामकीय चिन्ता र चासोको विषय रहेको एकल बीमा शुल्क बीमा कम्पनीहरु स्वयम्कै स्वनियमनमा प्रभावकारी घटेको तथ्याङ्कमा देखिएको छ ।

नेपाल लाइफको एकल बीमाशुल्क आर्जन २७ प्रतिशत, मेट लाइपको १५ प्रतिशत, ज्योति लाइफको ३१ प्रतिशत, एशियन लाइफको २९ प्रतिशत, सूर्या लाइफको ७२ प्रतिशत, एलआईसी नेपालको ६ प्रतिशत, सानिमा लाइफको ६५ प्रतिशत, रिलायबल नेपाल लाइफको १३ प्रतिशत, प्रभु लाइफको ७३ प्रतिशत, गुराँस लाइफको २८ प्रतिशत, महालक्ष्मी लाइफको ४४ प्रतिशत, सन नेपाल लाइफको १२ प्रतिशत र रिलायन्स लाइफको ७४ प्रतिशतले एकल बीमाशुल्क आर्जन घटेको छ ।

रकमको आधारमा कुन कम्पनीको अवस्था कस्तो ?

गत आवमा रकमको आधारमा सबैभन्दा ठूलो रकम एकल बीमा शुल्क बापत संकलन गर्ने कम्पनी नेपाल लाइफ रहेको छ । सो कम्पनीले ६५ करोड ७९ लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा मेट लाईफले ४५ करोड ९३ लाख रुपैयाँ संकलन गर्दा नेशनल लाइफले ४३ करोड १० लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, सिटिजन लाइफले ३९ करोड, ज्योति लाइफले ३५ करोड रुपैयाँ, एशियन लाइफले २९ करोड रुपैयाँ, सूर्या लाइफले २० करोड रुपैयाँ, र एकल बीमाशुल्क वापत संकलन गरेका छन् ।

त्यस्तै, एलआईसी नेपालले १५ करोड रुपैयाँ, रिलायन्स लाइफले १२ करोड रुपैयाँ, सानिमा लाइफले नौ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ७ करोड रुपैयाँ, प्रभु लाइफले ६ करोड रुपैयाँ, गुराँस लाइफले ४ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ३ करोड ५५ लाख रुपैयाँ, र सन नेपाल लाइफले सबैभन्दा कम ३ करोड ३९ लाख रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेका छन् ।

के हो एकल बीमा शुल्क ?

लामो अवधिको जीवन बीमा खरिद गर्दा बीमितले नियमित रुपमा बीमा अवधिभर बीमा प्रिमियम रकम बीमा शुल्कवापत भुक्तानी गर्छन् ।तर एकल बीमाशुल्कमा बीमितले कूल बीमाङ्क रकम अर्थात बीमा प्रिमियम सुरुमै एकमुष्ठ तिरेको हुन्छ ।यसरी एकमुष्ठ रुपमा बीमा शुल्क भुक्तानी गर्दा बीमितले निश्चित प्रतिशत छुट पाउँछन् । खासगरी जीवन बीमा शुल्क एकै पटक तिर्ने र आकस्मिक रुपमा कमाएका व्यक्तिले बीमा गराउने यस्तो खालको बीमा गराएका हुन्छन् । पछिल्लो समय रियलस्टेट ब्यवसायी यस्तो बीमाप्रति बढी आकर्षित भएका देखिएको छ ।

अन्य बीमालेखमा किस्ता किस्तामा बीमितले बीमाशुल्क वापतको रकम जम्मा गर्नुपर्छ । तर एकल बीमाशुल्क अन्तर्गत लामो अवधिको बीमाशुल्क एकै पटकमा बीमा कम्पनीलाई बुझाउनुपर्छ ।नेपाल राष्ट्र बैंक मातहत रहेको वित्तीय जानकारी इकाईले समेत एकल बीमाशुल्क बीमा योजना मुद्रा निर्मलीकरणको लागी प्रयोग भइरहेको आशंका गर्दै बीमा समितिमार्फत् अनुसन्धान समेत गराएको छ । अवैध स्रोतबाट प्राप्त आम्दानीलाई एकल बीमा शुल्कको माध्यमबाट बीमा गर्न प्रयोग गर्ने र तीन वर्षपछि समर्पण गरेर बीमाबाट भएको आम्दानीको रुपमा देखाएर श्रोत खुलाउनुपर्ने दायित्वबाट उम्किने प्रयास गरेको भन्दै राष्ट्र बैंकले समेत कडाई गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*