नेपाली प्रविधिको ‘पुर्याईदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक

२ आश्विन २०७९, आईतवार ११:३८

काठमाडौं । मोटरसाईकल यातायात व्यवसायी प्रा.ली.द्धारा सञ्चालित ‘पुर्याईदेउ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाईएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमार्फत उक्त एप सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सामाजिक अभियन्ता पुण्य गौतमलगायतले उक्त एपको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले नेपालीले उत्पादन गरेको एप सबैले प्रयोग गर्ने विश्वास दिलाए । उनले भने,‘हामी आत्मनिर्भरतातर्फ जानुपर्छ । राज्य हाम्रो बारेमा सोचिरहेको छैन् । जब जब पैसा बाहिर जान्छ, तब तब राज्य कमजोर हुन्छ ।’ उनले विश्वास नगरी कुनै पनि कुरा नहुने भन्दै यो एप प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् ।

यस्तै, कम्पनीका सिईओ प्रभुविश्वेन्द्र अधिकारीले अहिले पूरा विश्व डिजिटल युगमा रहेको उल्लेख गर्दै यो एपले धेरै नेपालीलाई लाभ दिने विश्वास दिलाए । उनले भने,‘प्रविधिको युगमा यो एप सान्दर्भिक छ । नेपाली लगानी हो । नेपाली प्राविधिकले बनाएको हो । हामीले सेवामा गुणस्तरीयता ल्याउने हो । यो एपको उद्घाटन भएको छ । हामी खुशी छौं ।’

यस्तै, प्रा.लि.का अध्यक्ष जि.आर क्षेत्रीले आफूले धेरै छलफल र सल्लाह गरेर यो एप बनाएको बनाउँदै सबै प्रकारका सवारी साधानको सुविधा प्रदान गरिने जनाए । उनले आफूहरुले एपको मोटो नै ‘हरदम हरपल, २४सै घण्टा हामी तपाईको सेवा’ मा राखिएको सुनाए ।

यस्तै, क्लबका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरौं भन्नेतर्फ जोड दिएका छन् । उनले भने,‘हामी आँफै उत्पादन गरौं, आँफै उपयोग गरौं । अब नेपालीले विदेशीको मुख ताक्ने दिन गए । नेपाललाई आत्मनिर्भर बनाउने भन्नेतर्फ अघि बढेको देख्दा खुशी लागेको छ ।’

सो क्रममा धमलाले जनता ठूला ठूला समस्यामा परेको भन्दै बाग्मती प्रदेश सरकारले मल उत्पादन गर्नुपर्ने सुझाव दिए । युवाहरुले नै देशलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्दै धमलाले सोहीअनुसार हस्तक्षेपकारी भूमिकामा देखिन सुझाव दिए ।

उनले भने,‘घरघरमा पुर्याउदेउ एप पुग्नुपर्छ ।’ धमलाले आफूले भ्रष्टाचारीलाई चुनाव हराउने एजेण्डा बोकेको सुनाए । उनले भने,‘मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ । यो आजको आवश्यकत्ता हो ।’

यस्तै, सामाजिक अभियन्ता पुण्य गौतमले पनि उद्घाटन गरिएको एपले नेपालीको मन जित्नुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई सक्षम र बलियो बनाउने हो, स्वदेशी मालतालको प्रयोग गर्नुपर्छ । विदेशी एपको प्रयोग नगरौं ।म अब पुर्यादेउ भन्ने एप प्रयोग गर्छु । एप सबैको पहुँचमा हुनुपर्छ । यो एप एक मुखे रुद्राक्षजस्तो पनि नहोस । यो स्यालको सिंह खोजेजस्तो धुँईपताल खोज्दा पनि नभेटिनेजस्तो नहोस ।सबैले सजिलै पहुँच पाउन् ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*