देशैभरि एक लाख १५ हजार जना म्यादी प्रहरीको भर्ना खुल्ला, कहाँबाट दिने आवेदन ?

२६ भाद्र २०७९, आईतवार ०७:२४

काठमाडौं । आगामी आम निर्र्वाचनको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीले देशैभरिमा एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्न आज सूचना प्रकाशन गरेको छ । यही भदौं ३० गतेदेखि आवेदन खुल्ला गर्दै प्रहरीले तत्काल आवेदन दिने आह्वान गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदमा कार्य गर्न इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत ८ दिनभित्र दरखास्त बुझाउन भनिएको छ । असोज ६ गतेपछि प्राप्त दरखास्त नलिने प्रहरीको भनाई छ ।

आज प्रकाशित सूचनामा म्यादी प्रहरीमा भर्ना हुन यसअघि स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने उल्लेख छ । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने आज प्रकाशित सूचनामा उल्लेख छ ।

नेपाली नागरिक महिला पुरुष दुवै १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिनसक्ने जनाइएको छ । म्यादी प्रहरीमा भर्ना हुन कुनै विशेष शैक्षिकक योग्यता आवश्यक पर्नेछैन । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी. भएको तथा गर्भवती नभएको÷नरहेको हुनुपर्ने आज प्रकाशित सूचनामा उल्लेख छ ।

सरकारले म्यादी प्रहरीहरुका लागि ४० दिनको तलव बापत ३४ हजार ७६० रुपैयाँ, राशन बापत सात हजार २००, पोशाक बापत छ हजार रुपैयाँ उपलब्ध गराउने छ भने एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउनेछ ।

आवेदन दिनको लागि देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न भनिएको छ । साथै नजिकको प्रहरी चौकीमार्फत पनि यस सम्बन्धी थप सूचना लिन सकिने उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*