बैंकहरुमा एकैदिन थपियो ५ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ५ अर्ब थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ २० र २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप भदौ २१ गतेसम्म ५० खर्ब ४० अर्ब पुगेको छ । अघिल्लो दिन अर्थात भदौ २० गतेसम्म बैंकहरुको कुल निक्षेप ५० खर्ब ३५ अर्ब रहेको थियो ।
जसमध्ये भदौ २१ गतेसम्म वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ४४ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ । निक्षेप बढेसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)मा समेत सुधार देखिएको छ । चालु आर्थिक सुरु भएको पहिलो महिनामा बैंकहरुको अवस्था खस्किएको थियो । अधिकांश बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए । ४।५ वटा बैंकबाहेकका सबै बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा रहेको थियो ।
तर केहीदिनयता बैंकहरुको निक्षेप बढ्न थालेदेखि सीडी रेसियोमा सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार भदौ २० गतेसम्म ८८.२५ प्रतिशत रहेको बैंकहरुको सीडी रेसियो घटेर भदौ २१ गतेसम्म ८८.२१ प्रतिशत कायम भएको छ ।
त्यस्तै, यत बैंकहरुको कुल कर्जा लगानी समेत बृद्धि हुन पुगेको छ । भदौ २० गतेसम्म ४१ खर्ब ७८ अर्ब रहेको बैंकहरुको कर्जा लगानी भदौ २१ गते एकैदिन २ अर्बले बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।