साउन महिनामा इन्जिनियरिङ र कन्ट्रक्सन बीमा सबैभन्दा बढि, माेटर बीमालाई सम्पत्ति बीमाले जित्याे
काठमाडौं । गत साउन महिनामा निर्जीवन बीमा क्षेत्रमा इन्जिनियरिङ र कन्ट्रक्सन बीमाले सबैलाई उछिन्न सफल भएको छ । बीमा समितिका अनुसार साउन महिनामा नेपालमा सञ्चालित १९ वटा बीमा कम्पनीहरुले संकलन गरेको चार अर्ब ४५ करोड ५५४ लाख ८७ हजार रुपैयाँ कूल बीमा शुल्क मध्ये इन्जिनियरिङ तथा पूर्वाधार विकासको मात्रै सवा अर्बभन्दा बढि रहेको छ ।
बीमा समितिले इन्जिनियरिङ तथा पूर्वाधार निर्माण क्षेत्रको बीमा शुल्क अत्याधिक मूल्यबृद्धि गरेपछि चालु आवको पहिलो महिनामा त्यस्तो बीमामा एक अर्ब २७ करोड ५६ लाख २५ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन भएको छ ।
बीमा समितिले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार दोस्रो नम्वरमा सम्पत्ति बीमा परेको छ । सम्पत्ति बीमाको आकार एक अर्ब छ करोड १७ लाख रुपैयाँ रहेको छ । सम्पत्ति बीमाले २३.७२ प्रतिशत हिस्सा ओगटेको छ ।
यसअघि सबैभन्दा अगाडि रहेको अटोको बीमा हिस्सा २२.९५ प्रतिशतमा झरेको छ । साउन महिनामा अटो बीमा शुल्क बापत एक अर्ब दुई करोड ७० लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, सामुन्द्रिक बीमा ७.३७ प्रतिशत अर्थात ३२२ करोड ९९ लाख रुपैयाँ, हवाई बीमा १० करोड ४८ लाख रुपैयाँको भएको छ । त्यस्तै, कृषि बीमा २१ करोड ११ लाख अर्थात कूल बीमाको ४.७२ प्रतिशत हिस्सा छ । त्यस्तै, लघुबीमाको हिस्सा ०.१४ प्रतिशत रहेको छ ।