आफ्नै कर्मचारीहरुको हुर्मत लिने बीमा समितिको त्यो निर्देशन: स्तब्ध कर्मचारीबाट नियमन कमजोर हुन्छ कि बलियो ?
समाचार विश्लेषण
बीमा समितिले यही भदौं १४ गते नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा आफ्ना कर्मचारीहरुको सम्बन्धमा सूचना उपलब्ध गराउन भनिएको छ । बीमा समितिको उक्त पत्रसँगै बीमा समितिमा कार्यरत ९१ जना कर्मचारीहरुको मनोबल खस्किएको मात्रै छैन अब कुन मुख लिएर बीमा कम्पनीभित्र स्थलगत अनुगमनमा छिर्ने किंकतव्यविमुढ देखिन्छन् ।
बीमा समिति अन्तर्गत अनुगमन विभागमा कार्यरत कर्मचारीहरुले कुन नैतिकताको जगमा उभिएर बीमा कम्पनीमा पुगेर स्थलगत अनुगमन गर्ने गम्भिर प्रश्न चिन्ह खडा भएको छ । नियमनमा भनेकै बीमा कम्पनीमा पुगेर तोकिएको मापदण्ड पूरा भए नभएको जाँच गर्ने काम हो । तोकिएको मापदण्ड नपुगेको अवस्थामा बीमा कम्पनीहरुसँग आवश्यक कागजात माग गर्नुपर्ने हुन्छ । मागिएको कागजात नदिएको अवस्थामा सोही बमोजिमको प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ ।
बीमा समितिको भदौं १४ गते बीमा कम्पनीहरुलाई पठाएको निर्देशन अनुसार बीमा समितिका कर्मचारीहरु अब बीमा कम्पनीमा पुगेर अनुगमनको लागि नमस्कार गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको देखिएको छ । नियामक निकायले बीमा कम्पनीहरुमा पुगेर शंका लागेको विषयमाथि छानविन गर्ने कि कागजपत्र दिनुस् भन्दै अनुनय विनय गरिरहने ? अर्को गम्भिर प्रश्न चिन्ह खडा हुन पुगेको छ ।
बीमा समितिले आफ्नै कर्मचारीहरुको सम्बन्धमा जासुसी गर्न पत्र लेखेको भन्दै कर्मचारीहरु स्तब्ध बन्न पुगेका छन् । एक कर्मचारीले भने, ‘आफ्नै कर्मचारीमाथि विश्वास नहुने अवस्था सिर्जना हुनु बीमा समितिकै लागि दुभाग्र्यपूर्ण अवस्था हो ।’ बीमा समितिको इतिहासमा पहिलो पटक बीमा समितिले बीमा कम्पनीहरुलाई पत्र लेखेर आफ्नै कर्मचारीहरुको जासुसी गरी सूचना अध्यक्षलाई उपलब्ध गराउन निर्देशन दिएको हो । यस्तो निर्देशनले नियामक निकाय नै कमजोर बन्नेतर्फ ध्यान नदिई बीमा समितिले अन्धाधुन्द बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दा उल्टै बीमा नियमन कमजोर बन्न पुगेको छ ।
बीमा समितिले अर्को गम्भिर विषय उजागर गरेको छ । बीमा समितिमा कार्यरत कर्मचारीहरुका सम्बन्धमा गुनासो प्राप्त भएको भदौं १४ गतेको पत्रमा उल्लेख छ । सो पत्रमा प्राप्त भएको भनिएको गुनासोको सम्बन्धमा बीमा समितिले किन छानविन गरेन ? बीमा समितिभित्रका कुनै अमुक कर्मचारीले गल्ती गरेको र सो सम्बन्धमा गुनासो प्राप्त भएकै आधारमा आफ्नै खुट्टामा बन्चरो प्रहार गरेर नियामकलाई कमजोर बनाउन काम भएको चर्चा बीमा क्षेत्रमा यतिबेला चलिहेको छ ।
एकाध दोषी र निर्दोषहरुलाई सगोलमा राखेर दोषी करार गर्ने बीमा समितिको भदौं १४ गतेको निर्देशनले नियामक निकायलाई नै कमजोर पार्ने छ भने प्रशासनिक दृष्टिबाट समेत त्रुटीपूर्ण र कानुनी रुपमा नियम विपरित रहेको छ ।