सिद्वार्थ इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, बीमाको रियल टाइम क्लेम सुविधा
काठमाडौं । निर्जीवन बीमा कम्पनी सिद्वार्थ इन्स्योरेन्स लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच बुधवार एक समझदारीपत्र मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मा सिद्वार्थ इन्स्योरेन्सका नायब महा प्रबन्धक दीपक कुमार धूत र ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखील बंकाले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा सिद्वार्थ इन्स्योरेन्सको प्रोडक्टहरुका लागि विधुतिय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा उक्त कम्पनीको प्रोडक्टहरुको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बीमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ ।
यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो । यसमार्फत ग्राहकले हरेक बीमालेखको विस्तृत विवरण बुझ्न सक्छन् । यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध छ । यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ । यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँच गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले लघुबीमालाई समेत लक्ष्य बनाएको छ ।
समझदारी अनुसार एग्रेगेटरले सिद्वार्थलाई एपीआई लिंक गर्दै रियल टाइम बाइंङ सलुसन प्रदान गर्नेछ । त्यसैगरी सिद्वार्थका बीमालेखहरुको खरिद बिक्रीको समीक्षाका लागि डेडिकेटिङ पोर्टल उपलब्ध गराउनेछ ।
ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरण सम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमा दावी र सिद्वार्थका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा सिद्वार्थका प्रमुख कार्यकारी अधिकृत, उप प्रमुख कार्यकारी अधिकृत, सहायक महा प्रबन्धक तथा मुख्य बजार प्रबन्धक पनि उपस्थित थिए ।