चालु पुँजी कर्जाका प्रावधानले उद्योगव्यवसाय धरापमा, चेम्बर तत्काल संशोधन गर्न माग

१३ भाद्र २०७९, सोमबार १७:४८

काठमाण्डौं। नेपाल चेम्बर अफ कमर्सले चालु पुँजी कर्जासम्बन्धी नेपाल राष्ट्र बैंकको प्रावधानले उद्योगी–व्यवसायीलाई हतोत्साही बनाएको निष्कर्ष निकालेको छ।

राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भीर असर गर्न सक्ने चेम्बरको ठहर छ। चेम्बरले आज आफ्नो धारणा सार्वजनिक गर्दै चालु पुँजी कर्जा सम्बन्धमा पर्ने असरबारे विभिन्न १० बुँदामा राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।

‘चालुपुँजी कर्जा सम्वन्धमा उल्लेखित प्रावधानले आवश्यकताअनुसारको कर्जा माग गर्न असहज हुने, उद्योग व्यापार घटाउने, आर्थिक गतिविधि विस्तारमा रोक लगाउने एवं रोजगारीमा असर देखिन सक्छ’, चेम्बरले भनेको छ।

चालु पुँजी कर्जा लिएपछि ऋणीले चल्ती खाता र कर्जा खाता छुट्टाछुट्टै सञ्चालन गर्नुपर्ने व्यवस्थाप्रति पनि चेम्बरले आपत्ति जनाएको छ। चेम्बरले भनेको छ, ‘पछिल्लो प्रावधानले व्यवसायबाट भएको आम्दानी तत्काल कर्जा खातामा दाखिला गर्न नसक्ने भएकाले ब्याजको दायित्व झन बढ्ने देखिन्छ। यसकारण एकल रुपमा कर्जा खाताको मात्रै व्यवस्था अनिवार्य गरिनुपर्दछ।’

चालु पुँजी कर्जासम्बन्धी प्रावधानले समग्र उद्योगी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीच क्रमभंगता हुनेसमेत चेम्बरको ठहर छ। अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि चालु पुँजी कर्जासम्बन्धी पछिल्लो व्यवस्थाले उद्योग–व्यवसाय ठप्प हुने अवस्था रहेको चेम्बरले जनाएको छ।

चेम्बरले चालु पुँजी कर्जासम्बन्धी अव्यवहारिक नीति तत्काल संशोधन गर्नसमेत सम्बन्धित निकायसँग आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*