सर्वोच्च अदालतद्धारा सगरमाथा इन्स्योरेन्सले मागेको दोपा खारेज
काठमाडौं । सर्वोच्च अदालतले निर्जीवन बीमा क्षेत्रकै चर्चित गौरीशंकर फर्निसिङको आगोलागी मुद्दामा दावी भुक्तानी नदिने भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले दायर गरेको दोपा (दोहोर्याई पाउँ) भन्ने निवेदन खारेज गरिदिएको छ । गत साता सर्वोच्च अदालतको इजलाशबाट सगरमाथा इन्स्योरेन्स कम्पनीले दायर गरेको दोपा सम्बन्धी मागदावी खारेज गरिदिएको हो ।
यद्यपि सगरमाथा इन्स्योरेन्स कम्पनीले उच्च अदालतको दोस्रो आदेश बमोजिम पीडित गौरी शंकर फर्निसिङलाई चार करोड एक लाख रुपैयाँ दावी भुक्तानी गरिसकेको छ । कम्पनीले उच्च अदालतबाट भएको फैसला चित्त नबुझी सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्च अदालबाट दोपाको मागदावी खारेज गरिदिएपछि सगरमाथा इन्स्योरेन्स र गोरी शंकर फर्निसिङबीचको कानुनी लडाई औपचारिक रुपमा सकिएको छ ।
उक्त मुद्दा सकिए पनि सगरमाथा इन्स्योरेन्स कम्पनीले मुद्दा जित्न तथा आफ्नो पक्षमा पार्न गरेको प्रयासहरुको विषय भने बाँकी छ । कम्पनीले पीडितलाई पुरै रकम दावी भुक्तानी नदिइएको पाइएको छ । केको आधारमा हिसाब गरी चार करोड एक लाख रुपैयाँ भुक्तानी दिइएको हो भन्ने खुल्न सकेको छैन । साथै भुक्तानी लिने राम कार्कीले समेत उच्च अदालतको फैसला विपरित कम रकम भुक्तानी लिएको देखिएको छ । सुरु मुद्दामा तीन करोड ९६ लाखको ब्याज समेत गणना गरी लिनुपर्नेमा विभिन्न शिर्षकमा बीमा समितिदेखि सगरमाथा इन्स्योरेन्ससम्मले रकम कट्टा गरेको पाइएको छ ।
उता, सगरमाथा इन्स्योरेन्स कम्पनीले फैसला कार्यान्वयन समयमा नगरेको प्रमाणित भएको छ । फैसला कार्यान्वयन समयन नगर्ने बीमा कम्पनीमाथि बीमा समितिले के कारवाही गरेको हो वा होइन केही खुलाएको छैन । सगरमाथा इन्स्योरेन्सले पटक पटक फैसला कार्यान्वयन नगरी म्याद गुजारेको थियो ।