जीवन बीमामा वैदेशिक रोजगारीको हिस्सा १४ प्रतिशत वैदेशिक रोजगार बीमा बापत दुई अर्ब २७ करोड आम्दानी

१ भाद्र २०७९, बुधबार १८:१०

काठमाडौं । वैदेशिक रोजगार बीमा बापत जीवन बीमा कम्पनीहरुले दुई अर्ब २७ करोड रुपैयाँ बीमशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले ४ लाख ५२ हजार वैदेशिक रोजगार बीमा पोलिसी जारी गरेर उक्त बीमा पोलिसी जारी गर्न सफल भएका हुन् ।गत असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब ७७ अर्बरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १४.१५ प्रतिशत बढी वैदेशिक रोजगार बीमाशुल्क आर्जन गरेको बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कले देखाएका छ ।

असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुले एक खर्ब ७७ अर्बमाथि कुल बीमाशुल्क आर्जन गरेकोमा म्यादी जीवन (वैदेशिक रोजगार) बीमाको हिस्सा मात्रै २ अर्ब २७ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक खर्ब ८१ अर्ब एक करोड ६० लाख रुपैयाँ बीमाङ्क रकम बराबरको २ अर्ब २७ करोड ४६ लाख रुपैयाँ वैदेशिक रोजगार कुल बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले ४ लाख ५२ हजार ८९१ जारी बीमालेख संख्याको आधारमा उक्त रकम बराबरको म्यादी जीवन बीमाशुल्क आर्जन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी सन नेपाल लाइफले मात्रै एक अर्ब ७८ करोड १८ लाख रुपैयाँ बराबरको कुल म्यादी जीवन बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले २५ करोड २१ लाख रुपैयाँ, ज्योति लाइफ इन्स्योरेन्सले २१ करोड ७१ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेनसले २ करोड ३४ लाख रुपैयाँ कुल म्यादी जीवन बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिसम्म जीवन बीमा कम्पनीहरुको म्यादी जीवन बीमाको कुल सक्रिय बीमालेखको संख्या ४ लाख ५२ हजार ८९१ रहेको छ ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले कुल बीमाशुल्क आर्जनमा उल्लेख्य सुधार गरेका छन् । अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो । यसको प्रभाव म्यादी जीवन बीमाको प्रिमियम शुल्क आर्जनमा देखिएको थियो । वैदेशिक रोजगारमा जानेको संख्या घटेसँगै वैदेशिक रोजगार बीमालेख संख्या घट्न पुगेको थियो ।

गत आर्थिक वर्षको मध्यतिर कोरोमा महामारीको सहजतासँगै वैदेशिक रोजगारमा जानेको संख्या बढ्न थाले । सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि म्यादी जीवन बीमा अनिवार्य गरेसँगै पनि असार मसान्तसम्म १९ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क बढ्न पुगेको हो । म्यादी जीवन बीमाशुल्क बढेसँगै जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्कमा टेवा पुगेको देखिएको हो ।

गत आर्थिक वर्षमा बीमा समितिले नेशनल लाइफ, एलआइसी नेपाल, सूर्या लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र सिटिजन लाइफ गरी कुल ६ वटा जीवन बीमा कम्पनीलाई म्यादी जीवन बीमा गर्न तोकिदिएको थियो । सो अवधिसम्ममा यी ६ वटा जीवन बीमा कम्पनीले २ अर्ब २७ करोडमाथिको कुल म्यादी जीवन बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्कले देखाएको छ ।

सरकारले वैदेशिक रो्जगारमा जानेहरुका लागि म्यादी जीवन बीमा अनिवार्य गरेसँगै चालु आर्थिक वर्षमा बीमा समितिले अन्य जीवन बीमा कम्पनीहरुले पनि म्यादी जीवन बीमा गर्न पाउने व्यवस्था ल्याएको छ । यो सँगै अब वैदेशिक रोजगारीमा जानेहरुका लागि थप सहज हुने भएको छ । कम्पनीहरुले थप सहजताका लागि अनलाइनमार्फत नै वैदेशिक रोजगार बीमा गर्न सकिने व्यवस्था ल्याएको छ । यसले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनमा थप टेवा पुग्ने देखिएको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । सरकारले नै अनिवार्य गरेको हुनाले पुलको व्यवस्था गरिएको थियो । जो नेपाली रोजगारीका सिलसिलामा विदेश जान्छन्, ती सबैले वैदेशिक रोजगार म्यादी बीमा गर्नैपर्छ । कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*