आईएमई लाइफ छैटौं वर्षमा प्रवेश, बीमाको पहुँच विस्तारमा जोड दिँदै अघि बढ्ने प्रतिबद्धता

१ भाद्र २०७९, बुधबार १४:२६

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौं १ गतेबाट औपचारिक कारोबार सुरु गरेको आईएमई लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । छैटौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

आईएमई ग्रुप मुख्य प्रबद्र्धक रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीहरुको रुपमा २०७४ सालमा लाइसेन्स लिएको थियो । नयाँ लाइसेन्स पाएसँगै सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । बार्षिकोत्सवकै अवसरमा कम्पनीले विगत एक महिनादेखि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।

पाँचौ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले प्रतिस्पर्धी जीवन बीमाको बजारमा अझै उत्कृष्ट सेवा प्रवाह गरिने प्रतिबद्धता जनाए । बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष अर्यालले बजारमा दरिलो उपस्थिति जनाएर सेवाग्राहीलाई सर्वसुलभ बीमाको पहुँच विस्तार गर्ने, छिटो छरितो बीमा सेवा पुर्याउने, कर्मचारीहरुको दक्षता बृद्धि गरिने बताए । साथै अध्यक्ष डा. अर्यालले बीमाको पहुँच गाउँ गाउँमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

बार्षिकोत्सवकै अवसरमा नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाए । बार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान लगायतका कार्यक्रमहरु गर्ने योजना रहेको जनाइएको छ ।

स्थापनाको छोटो अवधीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि ५० हजार भन्दा बढि सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको कम्पनीले गत आर्थिक वर्षमा आइपुग्दा एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजिसहित जीवन बीमा सेवा प्रवाह गर्दै आइहेको छ । कम्पनीले पुँजि बृद्धिको लागि प्रक्रिया अघि बढाइकेको छ ।

बीमाको दीगो व्यवसायमा ध्यान दिँदै आइरहेको कम्पनीले बीमितको हित र लगानीकर्तालाई उच्चतम् प्रतिफल दिने उद्घोष बार्षिकोत्सवको अवसरमा गरेको छ । स्थापनाको पाँच वर्षको अवधीमा दुई लाख ५३ हजार ५३९ जना बीमितको जोखिम रक्षावरण र बचत गर्दै अघि बढेको कम्पनीको जीवन बीमा कोषमा चार अर्ब ७१ करोड भन्दा बढि रकम संचिती गर्न सफल भएको छ । नियामकीय निर्णयका कारण चुक्ता पुँजि पाँच अर्ब पुर्याउने अभियानमा रहेको कम्पनीले जीवन बीमाको व्यवसायमा दीगो व्यवसाय लक्ष्य पछ्याउँदै आफूलाई बलियो र अब्बल कम्पनीको रुपमा स्थापना गर्न चाहेको देखिएको छ । बार्षिक साढे तीन अर्ब बीमा शुल्क संकलन गर्न सक्ने अवस्थामा पुगेको कम्पनीले आगामी दिनमा बीमा बजारमा हस्तक्षेपूर्ण भूमिका खेल्ने लक्ष्य लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*