१९ जीवन बीमा कम्पनीहरुले वर्षदिनभित्र व्यवस्थापनमा खर्चिए १४ अर्ब रुपैयाँ, कसको घट्यो– कसको बढ्यो ? (तथ्याङ्कसहित)
काठमाडौं । गत आव आर्थिक वर्षको वित्तीय विवरण सबै बीमा कम्पनीहरुले प्रकाशित गरिसकेका छन् । वित्तीय विवरणमा उल्लेख भएको नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च झण्डै १४ अर्ब रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुमा पाँच हजारभन्दा बढि कर्मचारीहरु कार्यरत रहेका छन् । कार्यालय सञ्चालन तथा तलव भत्ताबापत कम्पनीहरुले सो रकम खर्च गरेका हुन् ।
आव २०७७।०७८को तुलनामा गत आवमा जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च ८.१३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा १२ अर्ब ९२ करोड ५४ लाख ८६ हजार ७२९ रुपैयाँ व्यवस्थापनमा खर्च गरेका कम्पनीहरुले गत असार मसान्तसम्ममा १३ अर्ब ९७ करोड ६३ लाख १७ हजार १०९ रुपैयाँ खर्च गरेका छन् ।
सबैभन्दा बढि व्यवस्थापन खर्च गर्नेमा नेपाल लाइफ रहेको छ । सो कम्पनीले दुई अर्ब ४३ करोड १५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको व्यवस्थापन खर्च शून्यदशमलव ३ अंकले घटेको छ । दोस्रो नम्वरमा नेशनल लाइफ कम्पनी रहेको छ । सो कम्पनीले एक अर्ब २५ करोड ४४ लाख २१ हजार ६९८ रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । कम्पनीको व्यवस्थापन खर्च १०.६६ प्रतिशतले बृद्धि भएको छ ।
तेस्रो नम्वरमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीले ९६ करोड ६७ लाख ७४ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । सो कम्पनीको व्यवस्थापन खर्च ७.२२ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै चौथो नम्वरमा व्यवस्थापन खर्च गर्नेमा युनियन लाइफ रहेको छ । सो कम्पनीको व्यवस्थापन खर्च ९६ करोड ६७ लाख १८ हजार ६५५ रुपैयाँ रहेको छ । युनियन लाइफको व्यवस्थापन खर्च ८.१० प्रतिशतले घटेको छ ।
त्यस्तै एशियन लाइफले ८० करोड ९२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । सो कम्पनीको व्यवस्थापन खर्च पनि १.९५ प्रतिशतले घटेको छ । अर्को सूर्या लाइफको व्यवस्थापन खर्च ७८ करोड आठ लाख रुपैयाँ रहेको छ । सो कम्पनीको व्यवस्थापन खर्च ७६.५१ प्रतिशतले बृद्धि भएको छ । कम्पनी आक्रामक बजार विस्तारको रणनीति लिएकोले व्यवस्थापन खर्च बढेको हो ।
सिटिजन लाइफको व्यवस्थापन खर्च ७८ करोड, ज्योति लाइफको ७० करोड, रिलायबल नेपाल लाइफको ६४ करोड, प्राइम लाइफको ६१ करोड, आईएमई लाइफको ६० करोड रुपैयाँ रहेको छ । सो मध्ये रिलायबल नेपाल लाइफको व्यवस्थापन खर्च २४.५१ प्रतिशतले बृद्धि भएको छ ।
अर्को मेट लाइफको व्यवस्थापन खर्च निकै कम अर्थात ५५ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको व्यवस्थापन खर्च भने १६.७५ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, सन नेपाल लाइफको व्यवस्थापन खर्च ५३ करोड, रिलायन्स लाइफको ५३ करोड, प्रभु लाइफको ५२ करोड, सानिमा लाइफको ३९ करोड, गुराँस लाइफको ३५ करोड, महालक्ष्मी लाइफको ३२ करोड र राष्ट्रिय बीमा संस्थानको २१ करोड रुपैयाँ रहेको छ ।
समग्रमा गुराँस लाइफको व्यवस्थापन खर्च उच्च अंकले घटेको छ । सो कम्पनीको व्यवस्थापन खर्च २९.५६ प्रतिशतले घटेको छ । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्सको २९.०६ प्रतिशतले बृद्धि भएको छ ।