जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ३९ प्रतिशतले बढ्यो, खुद नाफामा देखियो सुधार

३१ श्रावण २०७९, मंगलवार ०९:१०

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीले कोषहरुको आकारमा उल्लेख्य बृद्धि गरेको देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म जनरल इन्स्योरेन्सले २४ करोड ६५ लाख रुपैयाँको बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीको बीमा कोषको आकार यस अवधिसम्म १४२.५७ प्रतिशतले बढेको हो । गत आवमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ बीमा कोषमा संचिती गरेको थियो ।

साथै जगेडा कोषको आकार पनि १४९ प्रतिशतले बृद्धि भई कोषमा २१ करोड ७९ लाख रुपैयाँ संचित रहेको छ भने महाविपत्ती कोषको आकार १९५.९६ प्रतिशतले बृद्धि भई २१ करोड ८८ लाख रुपैयाँ संचित रहेको छ ।

यता कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ९१ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तो आम्दानी अघिल्लो आवको तुलनामा २४.५० प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ६५ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

साथै सो अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च २१.२३ प्रतिशतले बढेको छ भने लगानी, कर्जा तथा पुनर्बीमा कमिशन यस अवधिसम्म ९७.६८ प्रतिशतले घट्न पुगेको छ । बीमाशुल्क आर्जनमा सुधार गर्दै कम्पनीले यस अवधिसम्म ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २४.५० प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिसम्म इन्स्योरेन्सले ९ करोड ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एक अर्ब चुक्तापुँजी रहेको यस कम्पनीको यस अवधिसम्म खुद दाबी भुक्तानी बढ्न पुगेको छ । अघिल्लो आवमा ७ करोड ४९ लाख रुपैयाँ रहेको खुद दाबी भुक्तानी यस अवधिसम्म बढेर १४ करोड ५० लाख रुपैयाँ पुगेको छ । साथै सो अवधिसम्म कम्पनीको जारी बीमालेखको संख्या ७२ हजार ९२७ रहेको छ ।

त्यस्तै सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ११.२१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८.६३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १७४.४८ रुपैयाँ रहेको छ । कम्पनीको अघिल्लो वर्षको वित्तीय विवरणहरुमा अधिकांश सूचक नकारात्मक देखिएपनि गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले विभिन्न सूचकमा सुधार गरेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*