सबैभन्दा पहिलो बन्दै शिखरले कमायो ४० करोड मुनाफा, अन्य सूचांकमा देखियो प्रगति, इपिएस कति?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आवमा बम्पर मुनाफा आर्जन गर्न सफल भएको छ । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले पाँच अर्ब भन्दा बढि बीमा व्यवसाय गरेर ४० करोडभन्दा बढि मुनाफा आर्जन गर्न गर्न सफल भएको छ । जुन सम्भवतः नेपाली बीमा क्षेत्रकै सबैभन्दा धेरै मुनाफा हो ।
कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्स कम्पनीले गत आवमा ४० करोड १४ लाख ३९ हजार २४८ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । नेपाली बीमा क्षेत्रमा गत आवमा यति धेरै मुनाफा कमाउने सम्भवतः शिखर पहिलो हो । कम्पनीको मुनाफा २८.९३ प्रतिशतले बृद्धि भई ३१ करोडबाट बढेको हो । दुई अर्ब २८ करोड ६० लाख चुक्ता पुँजि भएको कम्पनीलाई कसैसँग मर्जरमा नगईकनै चुक्ता पुँजि पुर्उयाउन सफल हुनेछ ।
शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आम्दानी ९७ करोड ५० लाख ५८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ९.२४ प्रतिशतले बढि हो । कम्पनीले बीमाको बजार हिस्सा थप बृद्धि गर्न सफल भएको तथ्याङ्कले देखाएको छ । समीक्षा अवधीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी २६.१० प्रतिशतले बृद्धि भई तीन अर्ब ९७ करोडबाट बढेर पाँच अर्ब नाघेको छ ।
कम्पनीले लगानी, कर्जा तथा अन्यबाट प्राप्त आम्दानी केही घटेको छ । अघिल्लो आवमा ३३ करोड आम्दानी गरेकोमा गत आवमा २८ करोड मात्रै त्यस्तो आम्दानी गरेको देखिएको छ । यद्यपि पुनर्बीमा कमिशन आयमा उल्लेख्य बृद्धि भएकोले कम्पनीको अवस्था थप बलियो बन्न पुगेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले बीमा कोषमा एक अर्ब ४१ करोड १६ लाख २७ हजार ९३० रुपैयाँ संचिती गर्न सफल भएको छ भने जगेडा र महाविपत्ति कोष समेतका आधारमा शिखरको समग्र कोषको आकार दुई अर्ब २३ करोड २२ लाख ४१ हजार ५६० रुपैयाँ संचिती रहेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २१.८० रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दान अनुपात ३६.९ हुँदा प्रतिशेयर नेटवर्थ २५४.४ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५६.५ रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीको बक्यौता दावी भुक्तानी रकम दुई अर्ब ४२ करोड ३६ लाख रुपैयाँ छ भने यस अवधीमा दुई अर्ब १६ करोड ६६ लाख १६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।