अजोड इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन एक अर्ब ६७ करोड माथि, अन्य सूचकमा देखियो सुधार
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार अजोड इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २८.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म इन्स्योरेन्सले १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
बीमा ब्यवसायमा सुधार गर्दै असार मसान्तसम्म कम्पनीले बीमा कोषको आकार ५३.०८ प्रतिशतले बढाएर १७ करोड १६ लाख रुपैयाँ कोषमा संचिती गरेको छ । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले कोषमा ११ करोड २१ लाख रुपैयाँ मात्रै संचित गरेको थियो ।
त्यस्तै, कम्पनीले समिक्षा अवधिसम्ममा ४७ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको यसै अवधिसम्मको तुलनामा २७.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ३७ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिसम्म अजोड इन्स्योरेन्सको आम्दानीसँगै ब्यवस्थापन कर्जा समेत बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा लगानी, कर्जा तथा अन्यबाट आम्दानी ११ करोड ७ लाख रुपैयाँ रहेकोमा यस अवधिमा १७.५२ प्रतिशतले बढेर १३ करोड १ लाख रुपैयाँ पुगेको छ । साथै व्यवस्थापन खर्च समेत यस अवधिसम्म ३५.६० प्रतिशत बढेर ३० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
आम्दानी बढेसँगै इन्स्योरेन्सले यस अवधिसम्म जगेडा कोषको आकार ५५ प्रतिशत बढाएको छ भने महाविपत्ती कोषको आकार ७०.२४ प्रतिशतले बढाएको छ । कोषको आकारमा बृद्धि भएसँगै इन्स्योरेन्सले यस अवधिसम्म १६.५७ प्रतिशतले खुद नाफा बृद्धि गर्न सफल भएको छ । चौथो त्रैमाससम्म इन्स्योरेन्सको खुद नाफा ११ करोड ८९ लाख रुपैयाँ पुगेको छ । साथै जारी बीमालेखको संख्या हालसम्म १ लाख २८ हजार ९१ रहेको छ ।
कम्पनीको हालको चुक्तापुँजी १ अर्ब रहेकोमा कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) ११ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।