एशियन लाइफको जीवन बीमा कोष ३२ अर्बमाथि, अन्य आम्दानीमा १०२% ले बढ्दा समग्र सूचांक सकारात्मक

३० श्रावण २०७९, सोमबार ०८:१३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कर्जा, लगानी तथा अन्य आम्दानीलाई शतप्रतिशतभन्दा बढिले बृद्धि हुँदा समग्र सूचांकमा सकारात्मक प्रगति देखिएको छ । कम्पनीको मुनाफा ३३ प्रतिशतले घटेको छ भने जीवन बीमा कोषको आकार २१.१८ प्रतिशतले बढेर ३२ अर्ब पुर्याउन सफल भएको छ ।

एशियन लाइफले जगेडा कोष ह्वात्तै घटेर ३५ प्रतिशतले तल झरेको छ । यसको अर्थ कम्पनी मुनाफाका लागि जगेडा कोष प्रयोग भएको भन्ने स्पष्ट भएको छ । कम्पनीको समग्र कोषको आकार १९ प्रतिशतले बढेर ३२ अर्ब ८१ करोड ९६ लाख ७६ हजार ३८२ रुपैयाँ पुगेको छ । पुराना मध्येका कम्पनी एशियन लाइफले यस अवधीमा शक्तिशाली बीमा कोष खडा गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको लागि बीमा कोष नै सबैभन्दा बढि महत्व हुन्छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी १७.१९ प्रतिशतले बृद्धि भई पाँच अर्ब ८० करोडबाट बढेर छ अर्ब ८० करोड १३ लाख ७१ हजार ५९८ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खुद दावी भुक्तानी २६.२० प्रतिशतले बृद्धि भई एक अर्ब १६ करोड छ लाख रुपैयाँबाट एक अर्ब ४६ करोड ४८ लाख तीन हजार २०९ रुपैयाँ पुगेको छ ।

कम्पनीको कर्जा लगानी, अन्य आम्दानी तथा जीवन बीमा पोलिसी धितोमा कर्जा बापतको आम्दानी १०२.९६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवमा दुई अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा चार अर्ब २९ करोड ९८ लाख सात हजार ४३२ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च १.९५ प्रतिशतले घटेर ८० करोड ९२ लाख ९८ हजार ३९३ रुपैयाँमा सीमित भएको छ । त्यस्तै बीमा अभिकर्तालाई वितरण गर्ने कमिशन रकम १६.२३ प्रतिशतले बृद्धि भई ८२ करोड ६७ लाख ५२ हजार सात रुपैयाँ रहेको छ ।

बीमा समितिले तोकेको फ्युचर बोनसका कारण कम्पनीको खुद नाफा ३३.३८ प्रतिशतले घटेर २५ करोड ४३ लाख ४२ हजार ३४२ रुपैयाँबाट १६ करोड ९४ लाख ३४ हजार ६८२ रुपैयाँमा झरेको छ । कम्पनीको मुनाफा घटेसँगै प्रतिशेयर आम्दानी ६.६७ रुपैयाँ, प्रतिशेयर कुल नेटवर्थ १२८.३७ र प्रति शेयर कूल सम्पत्तिको मूल्य १४४७.३७ रुपैयाँ रहेको छ ।
कम्पनीले दावी भुक्तानी गर्न बाँकी रकम पाँच करोड ८६ लाख रुपैयाँ बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*