झुक्याएर बीमा दावी लिने छ जनाबाट साढे दुई करोड फिर्ता गर्ने प्रक्रिया सुरु, खाता बन्द र सम्पत्ति रोक्का हुने

१५ श्रावण २०७९, आईतवार १४:४९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट झुक्याएर दुई करोड ५० लाख रुपैयाँ बीमा दावी भुक्तानी लिने स्व. सर्जन बिककी श्रीमती सपना मल्ल तथा उनको समुहबाट बीमा दावी भुक्तानी बापत लिएको रकम फिर्ता हुने भएको छ । फिर्ता गर्न आवश्यक कानुनी प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ ।

अब अभियुक्त सपना मल्ल तथा सञ्जिव अर्यालको समुहबाट साढे दुई करोड रुपैयाँ फिर्ता गर्न कानुनी प्रक्रिया सुरु भएसँगै मल्लसहित छ जनाको बैंक खाता रोक्का हुनेछ भने चल अचल सम्पत्तिहरु रोक्का राखिनेछ । बीमा क्षेत्रका जानकार कानुन व्यवसायीका अनुसार बीमा कम्पनीले पनि अभियुक्तका विरुद्धमा ठगी मुद्दा दायर गर्नुपर्नेछ । सिआईबीले बीमा कम्पनीको तर्फबाट जाहेरी परिसकेकोले तत्कालै एक्सन सुरु भइसकेको एआईजिपी उत्तम सुवेदीले जानकारी दिए ।

त्यसको लागि बीमा कम्पनीले कानुनी प्रक्रिया सुरु गरिसकेको छ । आवश्यक कानुनी प्रक्रियासँगै अब हत्याको अभियुक्तहरुको बैंक खाता रोक्का तथा सम्पत्ति रोक्का हुनेछ । बीमा दावी भुक्तानी लिन योजनाबद्ध तरिकाले बीमा गराई, अदालतमा झुक्याएर विवाह सक्कली विवाह गर्दा गरेकी सपना मल्ल बीमा कम्पनीबाट साढे दुई करोड रुपैयाँ ठगी गरेर विदेश उड्नै लाग्दा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी थिईन् ।

कोहलपुरका सर्जन बिकको हत्या गरी जीवन बीमा दावी भुक्तानी लिने उद्देश्यले अभियुक्तहरुले बीमा कम्पनीमा बीमा गराई चार महिनापछि बीमितको हत्या गरी साढे दुई करोड रुपैयाँ दावी भुक्तानी लिई पाँच जना अभियुक्तहरुले बाँडचुड गरेका थिए । सो क्रममा उनीहरुले सर्जन बिकको परिवारका सदस्य, अदालत र प्रहरीलाई समेत झुक्याएर आवश्यक कानुनी प्रक्रिया पुरा गरेर चार महिनापछि सवारी दुर्घटनामा हत्या गराएका थिए ।

घटनापछि बीमा क्षेत्रमा तरंग पैदा भइरहेको बेला अभियुक्तबाट बीमा कम्पनीले रकम फिर्ता गर्नेबारेमा प्रक्रिया अघि बढाउन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*