संसदीय समितिमा पूर्वअर्थमन्त्री शर्माको बयानः रघुनाथ घिमिरेलाई नजिकबाट चिन्दिन, ब्यक्तिगत सम्पर्क छैन

१३ श्रावण २०७९, शुक्रबार १८:५९

काठमाडौं । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरेको आरोपपछि पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गठन भएको ११ संसदीय छानबिन समितिले १७ दिनपछि आज प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ ।

समितिले आज सभामुख अग्नि प्रसाद सापकोटालाई १२९ पेजको प्रतिवेदन बुझाएका हुन् । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटालाई प्रतिवेदन बुझाएका हुन् ।

गत असार २२ गते शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिलाई सुरुमा १० दिनको समयावधि दिइएकोमा समय अपुग भएको भनी गत साउन ५ गते सात दिन समय थप गरिएको थियो । १७ दिनपछि आज छानबिन समितिले प्रतिवेदनमा ‘अनाधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष गरेको छ । प्रतिवेदनमा १ बुँदे निष्कर्ष र ११ बुँदे सुझावहरू उल्लेख छन् ।

शुक्रबार सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाइएको प्रतिवेदनमा उल्लेख भएको शर्मासँगको सवालजवाफमा छानबिन समिति र शर्माबीच भएको सवाल–जवाफ :
प्रश्न –सभामुखज्यूको रोहवरमा सरकार पक्ष र प्रतिपक्षबाट एक–एक जना बसेर फुटेज हेरौँ भनेर प्रतिपक्षले पहिले नै प्रस्ताव गरेको थियो । यसलाई किन गम्भीर रूपमा लिइएन ?
उत्तर – सभामुखसहित त्यसरी आउनुभएको भए हेर्न नदिने भन्ने कुरै हुँदैनथ्यो । आउनुभएन ।

प्रश्न – दरको हेरफेरको औचित्य पुष्टि गर्ने कागजात छन् ?
उत्तर – के गर्दा राजस्वमा कस्तो असर पर्छ भन्ने विश्लेषण सचिव र महानिर्देशकले प्रिजेन्टेसन बनाएर स्क्रिनमा देखाउनुहुन्थ्यो । छलफल हुन्थ्यो, केही परिमार्जन गर्नुपरे त्यहीँ गर्नुहुन्थ्यो ।

प्रश्न – नीतिगत निर्देशन गरेर बाहिरिएँ भन्नुभएको छ । तपाईंको अनुपस्थितिमा दर कसले अन्तिम ग¥यो ? तपाईंको अनुपस्थितिमा अनाधिकृत व्यक्तिको प्रवेश भएन भनेर कसरी विश्वस्त हुने ?
उत्तर – मैले अन्तिम निर्णय गर्नुपर्ने कुरा सकिएपछि इन्ट्री गर्ने मात्र काम बाँकी हुँदा निस्किएको हुँ । भोलिपल्ट संसदमा बजेट वक्तव्य पनि पढ्नुपर्ने भएकोले रातभरि बस्दा गाह्रो हुन्छ, केही आराम चाहिन्छ भनेर सबैको सल्लाह अनुसार नै निस्केको हुँ । बाहिरी मान्छे प्रवेश गर्न सक्ने सम्भावना नै हुँदैन । कोही आएको भन्ने कुरा झूट हो ।

प्रश्न – निर्णय प्रक्रियाका हस्ताक्षरसहितका लिखत के–के छन् ?
उत्तर – मन्त्रिपरिषद् लाने प्रस्तावमा मात्र मेरो हस्ताक्षर छ ।

प्रश्न – अर्थ मन्त्रालयको लामो अनुभव भएका शोभाकान्त पौडेलजस्ता कर्मचारीलाई बाहिर पठाई कम अनुभव भएका किन ल्याउनुभयो ?
उत्तर – अहिलेका धेरै सहसचिव अर्थमा कम र अरू मन्त्रालयमा बढी अनुभव भएका हुनुहुन्छ । सचिवमा बढुवा हुने बेला हुन लागेका सहसचिवलाई प्रदेशमा सचिवका रूपमा खटाइने हुँदो रहेछ । त्यही कारण पुराना प्रदेशमा सरुवा हुनुभयो । नियमित प्रक्रिया अनुसार नै सरुवा भएको हो । उपसचिवसम्म अर्थमन्त्रालयकै विशिष्टकृत कर्मचारी हुने भएकोले त्यसमा समस्या हुँदैन ।

प्रश्न– सरकारको उच्च नेतृत्वमा भएका पदाधिकारीका परिवारका सदस्य संलग्न भई सेनिटरी प्याड आयात गर्ने कम्पनी खुल्नु र आयातमा भन्सार ९० प्रतिशत छुट हुनुबीच केही सम्बन्ध छ ? एक किसिमका फलाम उद्योग बन्द नै हुने अवस्थामा पुग्ने गरी कर बढाएर अर्को किसिममा छुट दिइएको छ । १५० किलोवाट सम्मका विधुतीय गाडीलाई न्यूनतम दर लिने गरेकोमा १०० किलोवाट बनाइएको छ । निश्चित व्यक्ति र समूहको फाइदाको लागि दर हेरफेर गरिएको जस्तो देखिन्छ ।
उत्तर – नीतिले के गरे भन्ने विषय महत्वपूर्ण हो । उत्पादनलाई जोड दिएको छ । कसैलाई लक्षित गरिएको छैन । रोजगारी र उत्पादन वृद्धि भएको छ । राष्ट्रको स्वार्थमा छ । भोलि परिणामले यो देखाउने नै छ । सेनिटरी प्याडमा स्वदेशी उत्पादकमा माग पनि सम्बोधन भएका छन् । एउटा कच्चा पदार्थ प्याकिङ म्याट्रियल उहाँहरूले माग्नुभएको छुट दिइएको छैन, ३० प्रतिशत भन्सार दर छ । त्यसको कारण के हो भने packing material नेपालमै पर्याप्त उत्पादन हुने हुँदा नेपालकै किन्नुहोस् भनेर हो । विद्युतीय गाडीमा अहिले अलि धेरै तहमा वर्गीकरण गरिएको हो । त्यति गर्दा पनि यसबाट समान मूल्यका पेट्रोलियम गाडीको तुलनामा एक तिहाई मात्र राजस्व असुल हुन्छ । अन्तिम निर्णयको जिम्मेवार म हुँ । बजेटका विषय संसदमा प्रस्तुत हुनु अघि कतै लिक भएको छैन । मन्त्रालयले संस्थागत मान्यताभित्रै बसेर काम गरेको छ ।

प्रश्न – अनाधिकृत व्यक्ति भनेर रघुनाथ घिमिरेको नाम आएको छ पत्रपत्रिकामा । रघुनाथ घिमिरेलाई चिन्नुहुन्छ ?
उत्तर – पुराना कर्मचारीलाई पनि कहिलेकाहीँ विभागले केही काममा लगाउँदा रहेछन् । मन्त्रालय आउनेजाने क्रममा सामान्य चिनजान छ । नजिकबाट चिन्दिनँ, व्यक्तिगत सम्पर्क छैन ।

प्रश्न – तपाईंले काम गर्दा टिम स्प्रिट कस्तो थियो ? अर्थ सचिव त तपाईंसँग काम गर्न नसक्ने भनेर बिदा बस्नुभयो अनि राजीनामापछि फर्कनुभयो ।
उत्तर – टिम स्प्रिटमा मैले त केही समस्या अनुभूति गरेको थिइनँ । अरूले गर्नुभएको भए थाहा भएन । मैले राजीनामा दिँदैछु भन्ने सचिवलाई थाहा पनि थिएन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*