१५ अर्बको जीवन बीमा कोषसहित दरिलो उपस्थिति जनाउँदै सूर्या लाइफ, मर्जरमा कस्तो होला प्रभाव ?

११ श्रावण २०७९, बुधबार १७:०४

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पछिल्लो समय सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले तीव्र प्रगति गर्दै अघि बढिहेको छ । पछिल्लो दुई वर्षमा कम्पनीले व्यवसायमा उल्लेख्य रुपमा बृद्धि मात्रै गरेको छैन, रि–ब्राण्डिङमार्फत आक्रामक व्यवसाय विस्तार गर्दै आएको छ । सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो लोगो नै परिवर्तन गरी नयाँ लोगोमा सूर्यको साथमा बीमालाई जीवनको उज्यालोसँग जोडेर ब्राण्डिङ गर्दै आएको छ ।

‘सर्वे भवन्तु सुखिनः’ भन्ने मूल नाराका साथ अघि बढेको सूर्या लाइफले पछिल्ला वर्षहरुमा गरेको प्रगति लोभलाग्दो छ । २०६४ साल चैत्र ६ गतेबाट जीवन बीमाको कारोबार सुरु गरेको कम्पनीले सुरुवाती दिनमा खासै व्यवसाय फैलाउन नसकेपनि पछिल्लो दुई वर्षमा जीवन बीमा कोष दोब्बर अंकले बृद्धि गर्न सफल भएको छ । २०७७ साल असार मसान्तमा सात अर्ब ४२ करोड ७५ लाख रुपैयाँको जीवन बीमा कोष बनाएको कम्पनीले २०७८ असार मसान्तमा आईपुग्दा १० अर्ब ६६ करोड भन्दा बढि जीवन बीमा कोष खडा गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोष नै हुन्छन् । जीवन बीमा कोष जति ठूलो भयो, उति नै कम्पनीको बोनस दिने क्षमता र बलियोपना बढि हुन्छ ।

गत आवको असार मसान्तसम्मको वित्तिय विवरण त प्रकाशन भइसकेको छैन तर अनुमानित विवरण अनुसार यस वर्ष सूर्या लाइफको जीवन बीमा कोषको आकार १५ अर्ब पुग्नेछ । नेपाली जीवन बीमाको इतिहासमा १५ अर्बको जीवन बीमा कोष साँच्चै विशाल र महत्वपूर्ण कोष हो । यसले कम्पनीको बोनस दिने क्षमतामा बृद्धि गर्ने विश्वास गर्न सकिन्छ । खर्च कटौति र आम्दानी बृद्धि गर्दै अघि बढेको कम्पनीले प्रतिस्पर्धी कम्पनीको तुलनामा जीवन बीमा कोषमा योगदान धेरै दिन सफल भएको छ ।

 

मासिक १२०० रुपैयाँमा एक करोडको बीमा गर्न सकिने बीमा क्षेत्रकै आकर्षक बीमा पोलिसी बिक्री गर्दै आएको सुर्या लाइफको बीमा पोलिसीहरु पनि निकै आकर्षक रहेकोले अभिकर्ताहरुको समेत आकर्षण बढ्दै गएको छ । नेपाली बीमा क्षेत्रमा मासिक १२०० रुपैयाँ तिरेर एक करोड रुपैयाँको बीमा गर्न पाउने सुविधा अन्य बीमा कम्पनीमा शायदै होला ।

नियामक निकाय बीमा समितिले चुक्ता पुँजि दुई अर्बबाट बृद्धि गरी पाँच अर्ब पुर्याउने निर्णयसँगै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । मर्जरमा जाने ज्योति लाइफ पनि नयाँ कम्पनी मध्येमा प्रगति गर्न सफल कम्पनी मानिन्छ । गत चैत्र मसान्तसम्ममा जीवन बीमा कोषमा पाँच अर्ब ६६ करोड रुपैयाँ जम्मा गरेको कम्पनीले गत आवको असार मसान्तसम्ममा छ अर्बभन्दा ठूलो जीवन बीमा कोष हुनेछ । नयाँ कम्पनीमा दीर्घकालिन जीवन विकास रणनीतिमा अघि बढेको ज्योति लाइफ र आक्रामक व्यापार विस्तार गर्दै अघि बढेको सूर्या लाइफ इन्स्योरेन्सको बीचमा मर्जरको प्रक्रिया अघि बढेको छ ।

यी दुई कम्पनीका बीचमा अध्यक्ष को हुने ? सिईओ को बन्ने र नाम के राख्ने भन्ने सम्बन्धमा अझै अन्तिम निर्णय भने भइसकेको छैन । कम्पनी मर्जरमा जाने सम्झौता गरे पनि अझै डिडिए गर्न, एक्चुरियल भ्यालुएशन गर्न बाँकी छ । एक्चुरियल भ्यालुएशनसम्मको काम सकिएपछि जीवन बीमा कोष, चुक्ता पुँजि, व्यवसाय आदिको आधारमा स्वाप रेसियो निर्धारण हुन्छ । जोखिममा आधारित वित्तीय विवरणसहितको डिडिए र एक्चुरियल भ्यालुएशन गर्नुपर्ने भएकोले अहिले नै यसको यति नै हुन्छ भनेर भन्नु गलत हुनेछ । दुई कम्पनीको एकीकृत कारोबार कहिले सुरु हुन्छ त्यो अहिले भन्न सकिने अवस्था छैन । जीवन बीमा कम्पनीको मर्जर सम्बन्धी प्रक्रिया असाध्यै लामो र झन्झटिलो भएकोले यसको लागि निकै लामो समय लाग्नेछ ।

सम्भवतः अन्तिम चरणमा पुगेपछि मात्रै सिईओ को हुने भन्ने कुरा फाइनल हुनेछ भने अध्यक्ष र स्वाप रेसियोसहितका विषयमा दुवै पक्षका बीचमा लेनदेन भई अन्तिम सम्झौता हुनेछ । अहिले सूर्या लाइफमा सिईओको रुपमा पवन कुमार खड्का कार्यरत छन् । नेपाल लाइफमा लामो समय काम गरेका काबिल खड्काको नेतृत्वमा कम्पनीले पछिल्लो दुई वर्षमा देखिन गरी नतिजा दिन सफल भएको छ । त्यस्तै कम्पनीलाई शून्यबाट सुरु गरेर अघि बढाएका प्रकाशविक्रम खत्रीले ज्योति लाइफमा नेतृत्व गरिरहेका छन् । दुवै जना नयाँ जीवन बीमा कम्पनीको नेतृत्व हाँक्न लागि सक्षम र योग्य छन् । तर, कसले नेतृत्व गर्ने भन्ने कुरा भने एक्चुरियल भ्यालुएशन नसकिउन्जेल अर्थात अझै केही महिना लाग्नेछ ।

आक्रामक व्यवसाय गर्दै अघि बढेको कम्पनी र दीर्घकालिन व्यवसायमा अघि बढेका दुई कम्पनीका बीचमा मर्जर भई नयाँ कम्पनी बन्न सफल भएमा नेपाली बीमा जगतमा नयाँ प्रयोग गर्दै बीमितलाई अधिकतम् लाभ दिन र लगानीकर्तालाई प्रतिफल दिन सफल हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*