रजत महोत्सव मनाउँदै एनआईसी एसिया बैंक, आजबाट २५ औं वर्षमा प्रवेश
काठमाण्डौ । एनआईसी एसिया बैंकका लागि आज ऐतिहासिक दिन हो । सस्थागत रुपमा २५ वर्ष पुगेपछि रजत महोत्सव मनाउने चलन छ । एनआईसी एसिया बैंकले यस वर्षभरि नै विविध कार्यक्रम रजत महोत्सव मनाउने छ । २०५५ सालको साउन ५ गते स्थापना भई विधिवत रुपमा कारोबार सुरु गरेको एनआईसी एसिया बैंक आज देशकै सबैभन्दा ठूलो र नम्वर १ बैंक बन्न सफल भएको छ ।
बैंक तथा वित्तिय क्षेत्रमा एनआईसी एसिया बैंकले गरेको प्रगति सिंगो बैंकिङ क्षेत्रको लागि रोल मोडल नै छ । यससँगै एनआईसी एसिया बैंकको लागि नयाँ युगमा प्रवेश गर्दै एक सबल, सक्षम र परिपक्व बैंकिङ सेवा दिने बैंकको छवीमा आँच आउन नदिई अघि बढ्नुपर्ने दायित्व काँधमा आइपरेको छ ।
एनआईसी बैंकको रुपमा स्थापना भएको बैंक २०१३ मा बैंक अफ एसियासँग मर्जर भई एनआईसी एसिया बैंक बनेको हो । पटक पटक बैंक अफ दि इएरबाट सम्मानित भइसकेको एनआईसी एसिया बैंक आज नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भइसकेको छ ।
देशैभरि फैलिएको सञ्जालमार्फत गाउँ गाउँदेखि शहरका कुना कुनासम्ममा एनआईसी एसिया बैंकले सरल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल एनआईसी एसिया बैंकका४७३ वटा एटिएम, १०२ वटा एक्टेन्सन काउन्टर र ३५९ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
विधिविधान, पद्धति, पारदर्शीता, व्यवसायिकतालाई मुख्य आधार मान्दै अघि बढेको बैंकका कर्मचारीहरुले सामूहिक भावनाले उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौं’, रजत जयन्तीका अवसरमा बैंकका सिईओ रोशन कुमार न्यौपानेले भने । सिईओ न्यौपानेले रजत जयन्तीको अवसरमा नियामक निकाय राष्ट्र बैंक, सेवाग्राही, कर्मचारीहरु, शेयर लगानीकर्ताहरुलाई हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझै उत्कृष्ट बैंकिङ सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘सबैको सामूहिक मेहनतको प्रतिफल स्वरुप आज देशकै पहिलो बैंक बन्न सफल भएकोले यसमा सबैको योगदान उत्तिकै छ, सबैलाई बधाई छ ।’
सिईओ न्यौपानेले बैंकले यस २५ वर्षको यात्रामा आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयर धनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ । प्रतिफल आजको बजार मूल्यमा रु. ९,५२०.९७ बराबर पुगेको बक्तव्यमा उल्लेख गरेका छन् । यस अवधीमा बैंकले कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ भने गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै तीन अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको स्मरण गराएका छन् ।
रजत जयन्तीका अवसरमा बैंकले वर्षभरि नै विविध कार्यक्रम गरी मनाउने जनाएको छ ।