३१ कम्पनीहरुको शेयर कारोबार रोक्का, बीमा कम्पनीहरुको सबैभन्दा धेरै

४ श्रावण २०७९, बुधबार १६:१९

काठमाडौं । एक आपसमा मर्जरमा जाने विभिन्न ३१ कम्पनीहरुको नेप्सेमा शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूचीकृत १७ बीमा कम्पनी, ६ वाणिज्य बैंक, ५ माइक्रोफाइनान्स, १ फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनीको कारोबार रोक्का गरिएको छ। शेयर कारोबार रोक्कामा सबैभन्दा धेरै बीमा कम्पनीहरुको रहेको छ ।

कारोबार रोक्का गरिएका ३१ वटा कम्पनीमध्ये ४ कम्पनीको प्राप्ति (एक्वायर) र बाँकी २७ कम्पनी एक आपसमा मर्जको लागि समझौता गरेका छन् । नेप्सेमा मर्जमा जान समझौता गरेका २७ कम्पनी र प्राप्ति हुन् लागेका ४ कम्पनीको कारोबार रोक्का गरिएको छ ।

नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली २०७३ मा मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका कम्पनीहरुको सेयर रोक्का राख्ने व्यवस्था छ ।
मर्जरमा जान लागेका बीमा कम्पनीका साथै जलविद्युत कम्पनीहरुले कारोबार रोक्का गर्न पत्राचार गरेकाले नेप्सेले कारोबार रोक्का हुने व्यवस्था रहेको छ। नेप्सेमा सूचीकृत भएका कम्पनीहरुले धितोपत्र ऐन अन्तर्गत कारोबार रोक्का गनुपर्ने प्रावधान रहेको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले वाणिज्य बैंकको संख्या धेरै भएको भन्दै १५ मा झार्न राष्ट्र बैंकलाई सुझाएका थिए । राष्ट्र बैंकले पनि बैंकको संख्या घटाउन मर्जमा जान दबाब दिइरहे पनि बीमा क्षेत्रको जस्तो बैंकहरुमा मर्जरको लहर भने देखिदैन ।

राष्ट्र बैंकको दबाबपश्चात आधा दर्जन वाणिज्य बैंक एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) सम्बन्धी समझदारी (एमओयू) गरेका छन् । नयाँ मौद्रिक नीति आएपछि भने त्यो सुविधा प्राप्त नहुने गभर्नरले स्पष्ट पारेकाले वाणिज्य बैंकहरु मर्जमा जान एमओयू गरेका हुन । थप सुविधा लिनका लागि पनि बैंकहरु अहिले मर्जमा जान हतारिएका हुन् ।
गभर्नर अधिकारीको यो नीतिले अधिकांश बैंकहरुलाई मर्जरमा जान जोड दिएको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । मर्जमा नजाने बैंकलाई पाउँदै आइरहेको सुविधा नदिने कुराले बैंकहरुलाई मर्जमा जान जोड दिएको स्पष्ट देखिन्छ ।

हाल नेप्समा सिभिल बैंक, बैंक आफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, मेगा बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको कारोबार रोक्का भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबि)लाई प्राप्ति गरेर एकीकृत कारोबार समेत सुरु गरेको छ ।

नबिलले एनबीलाई प्राप्ति गरेपश्चात हाल नेप्सेमा एनबिको कारोबार रोक्का गरिएको छ । त्यस्तै ग्लोबल र बैंक अफ काठमाण्डू (बीओके)कोे एमओयू पश्चात नेप्सेमा कारोबार रोक्का गरिएको छ ।

मेगा बैंक र नेपाल इनभेष्टमेन्ट बैंक पनि एक आपसमा मर्जको लागि एमओयू गरेसँगै नेप्सेमा कारोबार रोक्का छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न सम्झौता गरेसँगै सिभिल बैंकको कारोबार रोक्का भएको छ ।
हाल नेप्सेमा क्यापिटल मर्चेन्ड बैंकिङ एण्ड फाइनान्सको कारोबार रोक्का छ । यसैगरी लघुवित्त कम्पनीहरुमा घोडीघोडा, नाडेप, समाज, सिवाईसी नेपाल र आँधिखोला लघुवित्त संस्था छन् । घोडाघोडी लघुवित्त युनिक लघुवित्तसँग मर्ज हुन लागेको हो । युनिक लघुवित्त नेप्सेमा सूचीकृत छैन् ।

जलविद्युत कम्पनीमा भने रिडी र रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का छ । बीमा समितिको पुँजिवृद्धि निर्देशनले कम्पनीहरु मर्जरको विकल्पलाई प्राथमिकतामा राखेका छन् । समितिले हकप्रद रोकेर मर्जरबाटै पूँजी बढाउन दबाब दिएपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका हुन ।
बीमा समितिले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

समितिले पूँजी बढाउँन निर्देशन दिएको छोटो समयमै १७ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका छन । जसमा ७ वटा जीवन बीमा कम्पनीहरु र १० वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् ।

जीवन बिमातर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता गरेका छन् । सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले पनि मर्जरमा जाने सम्झौता गरेका छन् ।

त्यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको छ । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।

दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ । त्यसअनुसार दुई कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

निर्जीवन बीमातर्फ अजोड र प्रभु इन्स्योरेन्स मर्जरमा जाने सम्झौता गरेका छन् । मर्जमा जान सम्झौता गरेसँगै नेप्सेमा कारोबार रोक्का भएको छ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा पहिले मर्जरमा जाने सम्झौता गरेका थिए । यी दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पूर्ण प्रकृया सकाएर साउन १ गतेदेखि एकिकृत कारोबार सुरु भएको छ । दुई कम्पनीबीच मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । यतिबेला यी दुई कम्पनीको पनि नेप्सेमा कारोबार रोक्का छ ।

साथै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच पनि मर्जरमा जाने सम्झौता भएको छ । हाल सिद्धार्थको चुक्तापुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियरको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ ।दुई कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

यसैगरी, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच पनि एक बराबर एकको अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ । हाल सानिमा र जनरल इन्स्योरेन्स दुबैको एक÷एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ ।एक बराबरको एकको अनुपातमा मर्ज भएपश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यसैगरी, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले पनि मर्जरमा जाने सम्झौता गरेका छन् । यी दुई इन्स्योरेन्सबीचमा १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो ।

मर्जरमा जान सम्झौतापत्र हस्ताक्षर गरेका ७ वटा जीवन बिमा कम्पनी र १० वटा निर्जीवन बिमा गरी १७ वटै बीमा  कम्पनीको सेयर कारोबार रोक्का छ । मर्जर तथा एक्वीजिशन प्रयोजनको लागि नेप्सेले १७ वटै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*