हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबारमा मर्जरबारे कस्ले के भने ?

१ श्रावण २०७९, आईतवार १९:३१

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा औपचारिक कार्यक्रममार्फत कम्पनीको नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले बीमा समितिको निर्देशन पालना गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बनाउन सफल भएको बताए । साथै उनले हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि नयाँ कम्पनीको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको बताए । उनले भने, ‘मर्जरपछि अबको दिनमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी ४ अर्ब २५ करोड पुर्याउने लक्ष्य रहेको छ ।’ साथै आगामी वर्षहरुमा शेयरधनीहरुलाई उत्कृष्ट लाभांश तथा प्रतिफल दिने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले हिमालयन एभरेष्ट इन्स्योरेन्सको मर्जरलाई शुभकामना ब्यक्त गर्दै बीमा समितिले ल्याएको मर्जर नीति उत्कृष्ट रहेको र अन्य बीमा कम्पनीले पनि यसै निर्देशनलाई पालना गर्नु नै उपयुक्त हुने बताए ।

साथै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शंकर रायमाझीले हिमालयन एभरेष्ट इन्स्योरेन्सको मर्जरलाई शुभकामना व्यक्त गर्दै हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स स्थापना सँगसँगै भएको र सो कम्पनीहरु संचालनमा आउँदा आफु नेपाल पुनर्बीमा कम्पनीको सिइओ बनेको ३० महिना २३ दिन मात्रै भएको बताए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले आर्थिक वर्ष २०७८।०७९ मा बीमा दाबी भुक्तानी पूर्ण रुपमा भएको बताए । साथै सोही आवधिभित्र नेपाल पुनर्बीमा कम्पनीले १०३% टार्गेट इन्स्योरेन्स इन्डस्ट्रिमा दाबी भुक्तानी गरिसकेको बताए ।

त्यस्तै, निर्जिवन बीमा व्यवसाय संघका अध्यक्ष राजेन्द्र मल्लले बजारको आवश्यकताभन्दा बढी बीमा कम्पनी रहेको कार्यक्रममा बताए । त्यो अवस्थामा नियामक निकाय बीमा समितिले पूँजी बढाउने निर्देशनसहित मर्जरको नीति ल्याउनु सकारात्मक रहेको उनको भनाई छ ।

किनकि, कम्पनीहरूको व्यवसाय र जोखिम वहन गर्ने क्षमता बढाउन पूँजीवृद्धि गर्नैपर्ने थियो । तर, थप लगानी गरेर नै पुँजी वृद्धि गर्नु त्यति उपयुक्त थिएन । किनकि, बीमा क्षेत्रको रेट अफ रिटर्न नै थोरै छ । त्यो अवस्थामा पूँजी बढाउन मर्जर नै उपयुक्त विकल्प थियो ।

समितिको नीतिअनुसार पछिल्लो समय बीमा कम्पनीहरू धमाधम मर्जर प्रक्रियामा सहभागी भएका छन् । यो स्वागतयोग्य छ । अब बीमा कम्पनीको संख्या घट्छ र स्वस्थ प्रतिस्पर्धाको विकास हुन्छ भन्ने विश्वास छ । साथै, पूँजीका आधारमा बीमा कम्पनीहरू पनि थप बलियो हुन्छन् । त्यो भएपछि बीमा कम्पनीहरूले दिने सेवा सुविधा पनि पहिलेको भन्दा राम्रो हुन्छ ।

हालसम्म मर्जरको मामलामा जे जति गतिविधि भएका छन्, त्यो राम्रो छ । कम्पनीको संख्या उच्च मात्रामा घट्ने संकेत देखिएको छ । तर, मर्जरमा जाने कम्पनीहरूलाई समय भने दिनुपर्छ । हतारमा मर्जर गर्नुस् भनेर दबाब दिनु हुँदैन । डीडीए लगायतका प्रक्रिया पूरा गर्दा धेरै समय लाग्छ । त्यो अवस्थामा समितिले तोकेको अवधिमै चुक्तापूँजी नपुग्न सक्छ । त्यसैले, यसमा मामलामा समितिले समय सीमा धेरै दिनुपर्छ । साथै, संचालनमा भइरहेका कम्पनीलाई मर्ज गराएर नयाँ कम्पनीलाई लाइसेन्स दिने गल्ती पनि बीमा समितिले गर्नु हुँदैन, त्यो भएमा अर्थतन्त्र प्रभावित हुन सक्छ ।

एभरेष्ट इन्स्योरेन्सका सिईओ कमल गौतमले यो मर्जरबाट आशावादी रहेको बताए । यसले पक्कै पनि ग्राहक, कर्मचारी, लगानीकर्ता लगायत सबै पक्षलाई फाइदा पुग्छ । साथै, समग्र बीमा बजारमा पनि सकारात्मक प्रभाव पार्छ भन्ने विश्वास छ । विशेषगरी हामीले अर्थतन्त्र र बीमा बजारको वर्तमान परिस्थितिलाई समेत दृष्टिगत गरेर मर्जरमा जाने निर्णय गरेका थियौं, जुन सफल भइसकेको छ । हामीले जुन उद्देश्यले मर्जर गर्ने निर्णय गरेका थियौं, त्यो पुरा हुनेमा पनि विश्वस्त छौं ।

मर्जरसँगै अहिले हाम्रो चुक्तापूँजी लगायत वित्तीय सूचकको आकार बढेको छ । हामीसँग अनुभवी कर्मचारी पनि थपिएका छन् । फलस्वरूप अब हाम्रो व्यवसाय गर्ने तथा जोखिम वहन गर्ने क्षमता पनि बढेको छ । अब हामी ठूला जोखिमको पनि ढुक्क भएर बीमा गर्न सक्छौं । अब हामीप्रति ग्राहकको आकर्षण समेत बढ्छ । फलस्वरूप हाम्रो व्यवसाय थप बढ्नेछ । त्यसको सकारात्मक प्रभावले हाम्रो लाभांश दरमा सुधार आउने विश्वास छ । ठूलो पूँजीको कम्पनी भएसँगै अब हामीलाई विदेशी पुनर्बीमा कम्पनीले हेर्न दृष्टिकोण पनि फरक हुन्छ । अब हामी नेपालमा गर्ने व्यवसायको सहज रूपमा पुनर्बीमा गर्न सक्छौं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*