हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, बीमा समितिका अध्यक्ष सिलवालले गरे उद्घाटन
काठमाडौं । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर भई आजबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ ।
एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले औपचारिक रुपमा गरेका छन् काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको उपस्थितिमा एकीकृत कारोबार शुभारम्भ गरिएको हो ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा भई बीमा समितिले मर्जरको अन्तिम स्वीकृति दिइसकेपछि एकीकृत कारोबार शुभारम्भव गरिएको हो ।
यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए । बीमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट गाभ्ने र गाभिने संस्थाको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सले सकार्ने गरी गत असार २३ गते स्वीकृति प्राप्त भएको थियो ।
यी दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएकोमा एमओयुमा हस्ताक्षर भएको दुई महिना १० दिनमै मर्जर सम्पन्न गरेका छन् । मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरणसँगै बीमा समितिले तोकेको चुक्ता पुँजि दुई दुई अर्ब पुग्नेछ ।