बीमा क्षतिपूर्तिबापत प्राप्त रकममा कर छली भएको महालेखाको ठहर, ७२ कम्पनीले बीमाबाट प्राप्त रकम लुकाए
काठमाडौं । यस वर्ष महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं बार्षिक प्रतिवेदनमा बीमाका बारेमा धेरै कुराहरु समेटिएका छन् । बीमा समितिको नियमनदेखि बीमाभित्र हुने कर गणनासम्मको सुक्ष्म विश्लेषण गरेको महालेखाले बीमित कम्पनीहरुले प्राप्त गरेको बीमा क्षतिपूर्ति बापतको रकम प्राप्त गर्ने ७२ संस्थाले आफ्नो आम्दानीमा नदेखाई आयकर छली गरेको भन्दै छानविन गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ ।
महालेखाले ठूला करदाता कार्यालयमा दर्ता भएका ५६ वटा कम्पनीहरुले आव २०७५।०७६ र २०७६।०७७ मा प्राप्त गरेको बीमा क्षतिपूर्ति बापतको रकम सम्बन्धित आयवर्षको आम्दानीमा लेखांकन गर्नुपर्नेमा नगरी दुरुपयोग गर्ने गरेको तथ्य पत्ता लगाएको हो । ठूला कर दातामा दर्ता भएका कम्पनीहरुमा आगोलागी तथा विभिन्न कारणले पुगेको क्षतिको बीमा दावी गरी बीमक कम्पनीबाट दावी भुक्तानी लिएपनि ५६ वटा कम्पनीहरुले दुई आर्थिक वर्षमा आम्दानीमा नदेखाई कर छली गरेको महालेखाले पत्ता लगाएको छ ।
महालेखा कार्यालयले ठूला कर दाता कार्यालयका ५६ वटा करदाता र पुतलसडक कर कार्यालयका १६ वटा करदाताहरुले बीमा क्षतिपूर्ति बापत प्राप्त गरेको रकमलाई सम्बन्धित कम्पनीको आयमा नदेखाइएको भन्दै त्यस्तो रकमबाट कर असुल गर्नुपर्ने भएकोले छानविन गर्न निर्देशन दिएको हो ।
महालेखाले ठूला कर दाता कार्यालयबाट ५६ वटा करदाताहरुबाट ३६ करोड ५८ लाख १३ हजार रुपैयाँ र पुतलीसडक कर कार्यालयमा दर्ता रहेको १६ वटा फर्मबाट पाँच करोड ५४ लाख ३९ हजार रुपैयाँ सहित कूल ४२ करोड १२ लाख ५२ हजार रुपैयाँ असुल गर्न छानविन गर्न भनेको छ । साथै अबदेखि बीमक कम्पनीबाट बीमा क्षतिपूर्ति लिई आफ्नो वित्तिय विवरणमा नदेखाउने फर्महरु कर कार्यालयको निगरानीमा पर्ने भएका छन् ।