बीमा समितिले कोरोना बीमा बापत नेपाल बीमक संघलाई दिएको एक अर्ब रुपैयाँ बेरुजू, गैर कानुनी तरिकाले रकम दिएको महालेखाको ठहर
काठमाडौं । बहुचर्चित कोरोना बीमाको दावी भुक्तानी गराउन बीमा समितिले उपलब्ध गराएको एक अर्ब रुपैयाँ बेरुजु रहन गएको छ । महालेखा परिक्षकको कार्यालयले बीमा समितिले गैर कानुनी तरिकाले रकम दिएको ठहर गर्दै बेरुजु राखेको हो ।
महालेखा परिक्षकको कार्यालयले आज सार्वजनिक गरेको ५९ औं बार्षिक प्रतिवेदन अनुसार बीमा समितिले नेपाल बीमक संघ एउटा गैर सरकारी संस्था भएकोले संस्थाको नाममा समितिले उपलब्ध गराउने कार्यको औचित्य पुष्टि नभएको ठहर गर्दै बेरुजू राखेको हो ।
महालेखाले आफ्नो प्रतिवेदनको २७५ औं नम्वरमा बीमा समितिले बीमक संघलाई रकम उपलब्ध गराउने कार्य कानुन सम्मत नदेखिएको प्रष्ट पारेको छ । बीमक संघको विधानमा कोरोना बीमाको दावी भुक्तानी गर्ने व्यवस्था नरहेकोले बीमा समितिमार्फत रकम लिई गरेको दावी भुक्तानी कानुन सम्मत नभएको ठहर गरेको हो ।