फैसला कार्यान्वयन गर्दै सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दावी भुक्तानी, गौरी शंकर फर्निसिङका कार्कीले बुझे चार करोड रुपैयाँ

२७ असार २०७९, सोमबार २३:०५

काठमाडौं । तीन वर्षअघि बुद्धनगरमा भएको आगोलागी काण्डका पीडित गौरी शंकर फर्निसिङका सञ्चालक दोलखा घर भएका राम कार्कीले चार करोड भन्दा बढि रुपैयाँ सगरमाथा इन्स्योरेन्स कम्पनीबाट दावी भुक्तानी बुझेका छन् । बीमा समितिको निर्देशन पालना गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले दावी भुक्तानी तिरेको हो ।

लामो समयदेखि फैसला कार्यान्वयन विवाद अन्त्य गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले आगोलागी सम्बन्धी दावी भुक्तानी रकम तिरेको हो । गौरी शंकर फर्निसिङका सञ्चालक राम कार्कीले आज आफ्नो खातामा रकम आएको जानकारी दिए । गत फागुन ८ गते अन्तिम फैसला भएको मुद्दाको फैसला कार्यान्वयनको क्रममा विवाद उत्पन्न भएपछि बीमा समितिले फैसला कार्यान्वयन गराउँदै सगरमाथा इन्स्योरेन्स कम्पनीलाई दावी भुक्तानी तिराएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीले दावी भुक्तानी तिरेसँगै सो विवाद अन्त्य भएको छ ।

बीमा समितिले थप कारवाहीको तयारी गरेपछि कम्पनीले रकम तिरेको छ । फैसला कार्यान्वयनसँगै गौरीशंकर फर्निसिङ सम्बन्धी मुद्दा हालको लागि किनारा लागेको छ । यद्यपि सगरमाथा इन्स्योरेन्स कम्पनीले गौरीशंकर फर्निसिङको पक्षमा भएको उच्च अदालतको फैसलामाथि चित्त नबुझाई सर्वोच्च अदालतमा दोपाको निवेदन दर्ता गराइसकेको छ । सगरमाथामा सर्वोच्च अदालतमा दोपाको निस्सा पाएमा सो मुद्दा पुनः ब्यूतनेछ ।

कार्कीले बीमा समितिमा दर्ता गरेको मुद्दा जितेका थिए । त्यस्तै, उच्च अदालत पाटनमा बीमा समितिले गरेको फैसला चित्त नबुझी सगरमाथा इन्स्योरेन्स कम्पनीले दर्ता गरेको मुद्दामा कम्पनी पराजित भएको थियो । त्यसैगरी, सगरमाथा इन्स्योरेन्स कम्पनीले दोस्रो पटक उच्च अदालतमा दायर मुद्दा सेटिङका बीचमा पुनः पराजित हुन पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*