बीमा समितिद्धारा लागू हुनै नसक्ने समयसीमा राखेर ३९ कम्पनीहरुलाई कोर सफ्टवयेरमा एपिआई कनेक्सन गर्न दवाव

२६ असार २०७९, आईतवार १७:४१

काठमाडौं । बीमा समितिले लागू हुनै नसक्ने समयसीमा राखेर ३९ वटा बीमा कम्पनीहरुलाई एपिआई मोडलमा तथ्याङ्कमा पहुँच दिन दवाव दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही असार २१ गते सबै बीमा कम्पनीहरुलाई पठाएको लिखित निर्देशनमा ७ दिनभित्रैमा एपिआई मोडलमा कोर इन्स्योरेन्स सफ्टवयेरबाट बीमा समितिले बनाएको आईआरएमआईएस सफ्टवयरमा सिधैं पहुँच दिन भनिएको छ ।

रोचक कुरा के छ भने बीमा समितिले लिने तथ्याङ्क, पहुँच स्थापित गरिने विषयबारे पत्र काटेको चार दिनपछि तालिम दिने सोही पत्रमा उल्लेख छ । बीमा समितिले एउटै पत्रमार्फत ७ दिने समय तोकेर तालिम भने पछि दिने उल्लेख गरेको हो ।

बीमा समितिको पत्र प्राप्त भएपछि बीमा कम्पनीहरुमा अन्योलता छाएको एक बीमा कम्पनीका सिईओले बीमापोष्टलाई जानकारी दिए । ७ दिनभित्र बीमा कम्पनीले चलाएका सफ्टवयरहरुमा बीमा समितिलाई पहुँच चाहियो भन्दै आउनु भएको छ, आईटीका कर्मचारीहरुले बीमा समितिमाथि व्यङ्ग्य गर्दै आएका छन्, हामीले कुरा बुझ्न सकेका छैनौं ।’

बीमा समितिले अव्यवहारिक र प्राविधिक रुपमा सम्भव नै नभएको निर्देशन दिन थालेपछि नियामक निकायको कार्यक्षमता र नेतृत्वदायी भूमिकामाथि प्रश्न चिन्ह उठेको छ । नियामक निकायले सहजिकरण गर्नुपर्नेमा अप्ठेरो अवस्थाको सिर्जना गरेको भन्दै बीमा समितिका अध्यक्षको आलोचना बीमा क्षेत्रमा भइरहेको छ ।

बीमा समितिले पहिलो तालिम, जडान गर्ने सफ्टवयर तयार पारेर मात्रै कनेक्टन गर्न समयसीमा तोक्नुपर्नेमा निजि कम्पनीको प्रभावमा परेर रातारात निर्देशन दिँदा प्राविधिक रुपमा हुनै नसक्ने कुरा लागू गर्न निर्देशन दिइएको खुलेको छ।

एपिआई सम्बन्धी निर्देशन दिँदा गलत भएको बीमा समितिकै कर्मचारी स्वीकार गर्दछन् । एक कर्मचारीले भने ‘अलि हतार भएकै हो ।’ एक बीमा कम्पनीका आईटी इन्जिनियरले बीमापोष्टसँग भने, ‘आईटीको सामान्य ज्ञान भएको भए बीमा समितिबाट यस्तो हाँस्यास्पद निर्देशन जारी हुने नै थिएन ।’ ‘अहिलेसम्म एपिआई सफ्टवयेर तयार भएकै छैन यस्तो हावादावी कुरा कसरी लागू गर्न सकिन्छ ?’ ति कर्मचारीले बीमा समितिका उच्च नेतृत्वप्रति प्रश्न गरे ।

बीमा समितिले माग गरेको एपिआई मोडलको तथ्याङ्कलाई बीमा समितिकै सफ्टवयर आईआरएमआईएसमा पहुँच दिनको लागि बीमा कम्पनीहरुले कोर इन्स्योरेन्स सम्बन्धी सफ्टवयरमा धेरै कुराहरु परिवर्तन गर्नुपर्दछ । जुन कुरा क्लोजिङको समयमा रहेका बीमा कम्पनीहरुले तत्कालै गर्न सम्भव नै छैन । त्यस्तो परिवर्तनको लागि सफ्टवयर निर्माता कम्पनीसँग समन्वय गर्नुपर्ने, सुरक्षाको विषयमा अडिट गर्नुपर्ने भएकोले पनि समय लाग्नेछ ।

 

बीमा समितिले गत शुक्रबार सबै बीम कम्पनीका सिईओहरुलाई ललितपुरको हिमालय होटलमा बोलाएर एपिआई मोडलमा बीमितहरुको तथ्याङ्क बीमा समितिका सफ्टवयेरमा लिङ्क गर्न निर्देशन दिएको थियो । ७ दिने पत्र काटेको ४ दिनपछि बीमा समितिले यस्तो तालिम सञ्चालन गरेको थियो । हिमालयन होटलमा सञ्चालित तालिममा बीमा समितिका अधिकारीहरुको कुरा नबेझकाले सबै बीमा कम्पनीका सिईओहरुले तत्कालै मुन्टो हल्लाएर हुन्छ भनेर फर्केका थिए । तर जब कम्पनीमा पुगेर बीमा समितिको निर्देशनबारेमा आईटीसँग मिटिङ गरे तब मात्रै समस्या हुने कुरा थाहा पाएका थिए ।

अधिकांश बीमा कम्पनीका आईटी शाखाका कर्मचारीहरु तनावमा परेका छन् । बीमा समितिले ७ दिने पत्र काटेर चार दिनपछि मात्रै कसरी एपिआई लिङ्क गर्ने भनेर ओरेन्टेशन दिएका थिए । सिईओहरुले ओरेन्टेशन पाउँदा जम्मा दुई दिनमात्रै कार्यालय समय बाँकी रहेको थियो ।

बीमा समितिले प्राविधिक रुपमा सम्भव नै नहुने अप्ठेरो निर्देशन दिएपछि सबै बीमा कम्पनीमा विरोध भइरहेको छ । बीमा समितिले बिना शर्त उक्त निर्देशन फिर्ता लिनुपर्ने धारणा बीमा कम्पनीमा कार्यरत आईटीका कर्मचारीहरुको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*