कर्णाली प्रदेशवासी विपद्पीडितलाई ७८ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२३ असार २०७९, बिहीबार १०:५५

काठमाडौं । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत त्यहाँका विपद्पीडितलाई ७८ लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक २०७८/७९ मा बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतकका परिवारका ३९ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो ।

विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार यहाँका १७ लाख नागरिकलाई बीमा रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए ।‘अहिलेसम्म हामीकहाँ आएका ५३ विपद्पीडितमध्ये ३९ जनाले रकम प्राप्त गरिसकेका छन्,’ उनले भने, ‘१४ मृतक परिवारलाई दिन बाँकी छ र उनीहरूको पनि अब छिट्टै भुक्तानी हुँदै छ ।’ मृतक परिवार तथा स्थानीय तहबाटै कतिपय फाइल ढिला आउँदा र विपद्बाट मृत्यु हुनेको सङ्ख्या थपिँदै जाँदा पीडित सबैको एकैचोटि भुक्तानी हुन नसकेको उनले बताए ।

राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशका प्रमुख शिवराज बिसीले ३९ मृतकका सबै विवरण खुल्ने कागजात आइसकेकाले सम्बन्धित हकवालालाई भुक्तानी गरिएको र पाँच जनाको केही कागजात नपुगेको बताए । आठ जनाको भर्खरै आवश्यक कागजात प्राप्त भएकाले सबै प्रमाण हेरेर जतिसक्दो चाँडो भुक्तानी दिइने प्रदेश प्रमुख बिसीले बताए ।

आन्तरिक मामिला मन्त्रालय विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले चालू आवमा जाजरकोटमा बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको जानकारी दिए । त्यस्तै हुम्लामा बाढी, पहिरो र हावाहुरीबाट सात, कालिकोटमा पहिरो र भीरबाट खसेर पाँच जनाको मृत्यु भएको उनले बताए ।

शाखा प्रमुख रोकायका अनुसार सुर्खेतमा बाढीबाट पाँच, जुम्लामा आगलागीबाट चार र रुकुमपश्चिममा बाढीबाट तीन, दैलेखमा दुई, डोल्पामा पहिरो, मुगुमा हिमपहिरो र सल्यानमा चट्याङबाट एक–एक जनाको मृत्यु भएको छ । प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि रू. दुई लाख र आवास बीमाअन्तर्गत रू. पाँच लाख उपलब्ध गराउने उल्लेख छ । तर आवास बीमा हालसम्म शुरू नभएको बताइएको छ ।

त्यसैगरी कार्यविधिमा कर्णाली प्रदेशमा स्थायी बसोबास भएका नागरिकको हकमा देशका जुनसुकै भू–भागमा विपद्को घटनामा मृत्यु मृतकका हकवालालाई बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्ने भनिएको छ । त्यस्तै नेपालको जुनसुकै स्थानमा स्थायी घर भई प्रदेशका सरकारी, गैरसरकारी संघसंस्था वा अन्य निकायमा कार्यरत व्यक्तिको समेत विपद् दुर्घटनाका कारण मृत्यु भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*