युनियन, प्राइम र गुराँसको डिडिए सकियो, एक्चुरियल भ्यालुएशन सुरु, के के छन् बाँकी काम ?

१३ असार २०७९, सोमबार ०९:२३

काठमाडौं । आपसमा मर्जरमा जाने निर्णय गरेका युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफको डिडिएको काम सम्पन्न भएको छ । केही दिन पहिले तीन वटै बीमा कम्पनीहरुको डिडिएको काम सम्पन्न भएको हो । जतिसक्दो छिटो मर्जरमा जाने अठोटका साथ काम भएका तीन वटै कम्पनीको डिडिएमा कुनै पनि समस्या नआएको विश्वस्त स्रोत बताउँछ ।

अब तीन वटै बीमा कम्पनीमा एक्चुरियल भ्यालुएशनको काम सुरु भएको छ । एक्चुरियल भ्यालुएशनको लागि भने केही समय लाग्न सक्नेछ । यद्यपि तीन वटै बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएशन पनि छिट्टै सकिने विश्वास व्यक्त गरिएको छ । एक्चुरियल भ्यालुएशनको आधारमा सहमतिको अन्तिम खाका तयार हुनेछ ।

तीन वटा कम्पनी मर्जरमा जाँदा नामको अन्तिम फाइनल गर्न बाँकी छ भने सिईओ को हुने भन्ने पनि निर्णय हुन बाँकी छ । प्राइम लाइफका सिईओको मनोज कुमार भट्टराईको पदावधी यही असारमा सकिने हुँदा युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मात्रै फाइनल चरणको मर्जरसम्म पुग्नेछन् ।
कर्मचारी समायोजन कसरी गर्ने यसको पनि अन्तिम खाका तयार गर्न बाँकी छ । कर्मचारीहरु समायोजन गर्दा कसैलाई पनि अन्याय हुन नहुने आवाज तीन वटै कम्पनीभित्र उठिरहेको छ ।

कम्पनीको नाममा खासै विवाद नहुने स्रोत बताउँछ । स्वापः रेसियो मिलेपछि कम्पनीका अध्यक्ष तथा सञ्चालक र सिईओमा लेनदेन हुनेछ । युनियन लाइफले छोटो समय गरेको प्रगति, देशैभरिका शाखा सञ्जाल र सक्रिय अभिकर्ताहरुको सञ्जालका कारण तीन वटा कम्पनी मर्जरमा युनियन लाइफकै दवदवा रहने देखिएको छ । चुक्ता पँजिको अवस्था हेर्दा प्राइम लाइफको दुई अर्ब ७७ करोड, युनियन लाइफको दुई अर्ब १५ करोड र गुराँस लाइफको दुई अर्ब ७ करोड रहेको छ ।

पहिलो नम्वरमा रहेको प्राइम लाइफले अध्यक्ष दावी गरेको खण्डमा सिईओ दोस्रो नम्वरमा रहेको युनियनले पाउने सम्भावना छ । मर्जर पछि बन्ने कम्पनीमा सिईओ जोसुकै बनेपनि डेपुटी सिईओ समेत निकै शक्तिशाली पद हुनेछ । करिब सात अर्ब चुक्ता पुँजि भएको नयाँ कम्पनीको जीवन बीमा कोष मात्रै ४० अर्बको हुनेछ । देशैभरि तीन सयभन्दा बढि शाखा सञ्जाल र एक लाख भन्दा बढि अभिकर्ता हुने हुँदा हालको नेपाल लाइफलाई टक्कर दिने कम्पनीको रुपमा नयाँ कम्पनीको उदय हुने हुँदा डेपुटी सिईओ समेत निकै प्रभावकारी र शसक्त हुनेछ । यद्यपि सिइओ पद त्रिपक्षिय सहमतिमा कायम हुने हुँदा तत्कालै यही नै हुन्छ भनेर भन्नु वस्तुवादी हुँदैन ।

सञ्चालक समिति, व्यवस्थापकीय टिम, स्वाप रेसियो, नाम निर्धारण हुन बाँकी रहेकोले आगामी भदौं असोजसम्मा तीन वटा कम्पनीका बीचमा मर्जर भई एकीकृत कारोबार सुरु गर्न सम्भव हुनसक्ने मर्जरमा कार्यरत टिमको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*