सगरमाथा इन्स्योरेन्सबाट गार्मेन्ट उद्योगले आगोलागीको दावी भुक्तानी पाएन, बीमित अर्थ मन्त्रालयको शरणमा

५ असार २०७९, आईतवार १७:५२

काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिएर हैरान पार्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अर्का एक बीमितलाई पनि दुःख दिएको थाहा हुन आएको छ । पीडितले दावी भुक्तानी नदिने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनीले सास्ती दिन थालेपछि पीडित अर्थमन्त्रालयको शरणमा पुगेका छन् ।

गत पुस १७ गते पश्चिम नेपालका एक गार्मेन्टमा आगोलागीबाट लाखौं रुपैयाँ क्षति भएको थियो । सो गार्मेन्टको आंशिक बीमा सगरमाथा इन्स्योरेन्स कम्पनीमा पनि रहेको र सगरमाथा इन्स्योरेन्स कम्पनीले लामो समयसम्म दावी भुक्तानी नदिएपछि पीडितहरु अर्थमन्त्रालयमा गुनासो गर्न पुगेका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले दावी भुक्तानीको प्रक्रियामा आगोलागीमा भएको क्षति भन्दा धेरै गुणा घटाएर दावी भुक्तानी लिन दवाव दिइरहेको छ । कम्पनीले तत्काल भुक्तानी चाहिने भए थोरै रकममा चित्त बुझाउन र बिल अनुसारको सबै दावी भुक्तानी लिने भए मुद्दा प्रक्रियाबाट जानुपर्ने भएकोले वर्षौ लाग्न सक्ने भन्दै धम्क्याइरहेको सूचना प्राप्त भएको छ ।

यसअघि गौरी शंकर फर्निसिङलाई करिब चार करोड रुपैयाँको क्षति भएको बिल बिजक समेत समावेश नगरी करोडमा बार्गेनिङ गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले नेपालगन्जका आगोलागी पीडित गार्मेन्टका सञ्चालकलाई पनि त्यस्तै गरिदिने चेतावनी दिएपछि पीडितहरु बाध्य भएर अर्थमन्त्रालयमा पुगेका हुन् । अर्थमन्त्रालयले सहजिकरणको लागि बीमा समितिमार्फत आग्रह गरेको जनाइएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले अदालतको फैसला समेत कार्यान्वयन नगरी बीमितको रकम नतिर्दा सिंगो बीमा जगत बद्नाम हुन पुगेको छ । पछिल्लो घट्नाले सगरमाथा इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी पाउन मुद्दा लड्नु पर्ने वा घुस खुवाउनु पर्ने अवस्था सिर्जना भएको पुष्टि भएको छ । यति हुँदा पनि नियामक निकाय बीमा समिति रमिते बनिरहनु आश्चर्यको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*