अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सहमति, आर्थिक संकट अन्त्यका लागि मिलेर काम गर्न तयार

२२ जेष्ठ २०७९, आईतवार १२:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच भद्र सहमति भएको छ । उच्च स्तरीय स्रोतका अनुसार गभर्नर अधिकारी र अर्थमन्त्रीले विगतका तुषहरु बिर्सेर सौहार्दपूर्ण वातावरणमा काम गर्ने सहमति भएको हो । स्रोतका अनुसार दुईजनाको बीचमा केही दिन पहिले सहमति भएको हो, अब उहाँहरुका बीचमा खास समस्या छैन ।

स्रोतका अनुसार निर्वाचनपछि विकास भएको नयाँ परिस्थिति र सरकारका सूचनाहरु अन्यत्र पुर्याउन नहुने रहेछ भन्ने कुरा गभर्नर अधिकारीले अनुभूति गरेपछि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी परिवर्तित अवस्थामा मुलुकको आर्थिक संकट अन्त्यका लागि मिलेर काम गर्ने सहमति भएको हो । यसअघि गभर्नर अधिकारीमाथि देशको वित्तिय अवस्था, सरकारको नीतिहरु पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुर्याउने गरेको आरोप लाग्दै आएको थियो ।

स्रोतका अनुसार गभर्नर अधिकारी सरकारलाई सहयोग गर्न इमान्दारपूर्वक तयार भएपछि अर्थमन्त्री शर्माले काम चलाउ सहकार्य गरेका हुन् । आगामी दिनमा गभर्नरले अपनाउने कार्यशैलीमा भर पर्ने स्रोतको दावी छ ।

सर्वोच्च अदालतबाट पुनर्बहाली भएपनि मुद्दा अझै बाँकी नै छ । सरकारले छानविन समिति गठन गरेपछि स्वतः निलम्वनमा परेका गभर्नर अधिकारी सर्वोच्च अदालतबाट पुनर्बहाली भई काम गर्दै आएका छन् । पछिल्लो समय गभर्नर अधिकारी र अर्थमन्त्री शर्माबीचमा तिक्तता बढेका कारण आर्थिक संकट नियमनमा समस्या उत्पन्न भएको थियो ।

सहमतिको पहिलो पालना गत जेठ १६ गते अर्थमन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर गभर्नर अधिकारीले सहकार्य सुरु भएको संकेत गरिसकेका छन् । आगामी दिनमा पनि गभर्नर अधिकारी र अर्थमन्त्री शर्मालाई सँगै मञ्चमा देख्न पाइने भएको छ ।
सहमतिसँगै अब गभर्नर देशको आर्थिक संकटमा मुख्य कारको रुपमा देखा परेको भुक्तानी असन्तुलन अन्त्यको लागि इमान्दारपूर्वक भूमिका निर्वाह गर्नुपर्नेछ । त्यस्तै, मौद्रिक नीतिमा बजेटलाई कार्यान्वयन गर्न प्राविधिक रुपमा सफल हुने गरी तयार पार्नुपर्नेछ ।

मुख्य दुई वटा कारणले अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीका बीचमा खटपट उत्पन्न भएको थियो । पहिलो कारण सूचना चुहाउनु र दोस्रो कारण मारवाडी समुह र पश्चिमतिरका भट्ट थरका युवा जसको बाबुलाई अख्तियारले डामेको थियो, सो गिरोहले भूमिका खेल्दै आएको थियो । सो गिरोहले अर्थमन्त्रीका केही व्यक्तिलाई हातमा लिएर चेनअफ कमाण्डमा घुसपैठ गरेपछि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीका बीचमा अविश्वासको वातारण सिर्जना हुन पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*